धान बालीमा मिलिवग किराको प्रकोपले किसान चिन्तित, कसरी गर्ने नियन्त्रण ?

सुर्खेत ७ असोज । धानमा विभिन्न किसिमको रोग देखिएपछि किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञान केन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ ।

हाल धानमा देखिएका विभिन्न किसिमका रोग मध्ये एक हो, मिलिवग । हाल प्रदेश एकका विभिन्न जिल्लामा मिलिवग किराले ठुलो मात्रामा धान बाली क्षति गरिरहेको बाली संरक्षण प्रयोगशाला विराटनगरले जनाएको छ । बाली संरक्षण प्रयोगशालाका अनुसार हाल मोरङ, झापा र सुनसरी जिल्लामा मिलिवग कीराको प्रकोप देखा परेको छ ।

१. पहिचान(Identification)

– वयस्क सानो, गुलाबी रङ्को, नरम शरीर भएको, सेतो मैन जस्तो पदार्थले ढाकिएको हुन्छ । कुनै पखेटा भएका र कुनै पखेटा विहीन हुन्छन् ।

– यो कीराले समूहमा बसी बालिलाई नोक्सानी गर्दछ ।

– यो कीराको शरीरको पछिल्लो भागमा पुच्छर जस्तो अङ्गहरू निस्केका हुन्छन् ।

२. क्षतिको लक्षण(Damage Symptom)

-यस कीराको माउ र बच्चा दुवैले धानको बिरुवाबाट रस चुस्दछन् जसले गर्दा बोट रोगाउन जान्छ, पात पहेँलिन्छ, बिरुवाको वृद्धि रोकिन्छ र अन्त्यमा गई बिरुवा मर्दछ ।

– यिनले बिरुवामा एक किसिमको पदार्थ (Honey dew) छाड्दछन् जसमा कालो ढुसी उत्पन्न भई बिरुवाको प्रकाश संश्लेषण प्रक्रियामा वाधा पर्न जान्छ ।

– धानको बिरुवा रोगाउने, बढ्न नसक्ने, जिङ्ग्रिङ्ग परेर पहेँलिन्छन् र बिरुवामा बाला लाग्दैन ।

३. पत्ता लगाउने तरिका(Detection Method)

– यो कीराको माउ र बच्चा दुवैले धानको सिथ(Sheath)को भित्र पट्टी बसेर रस चुसेर क्षति गर्ने हुनाले तपाईँ हामीले सोझै बाहिरबाट सामान्य रूपमा हेर्दा पत्ता लगाउन कठिन हुन्छ । त्यही भएर यसको समयमै सजिलो तरिकाले पत्ता लगाउनको लागि धानको बोट च्यात्ने वा पात देखि मुनी सिथ(Sheath) सम्म च्यातेर हेर्ने हो भने त्यहाँ भित्र मिलिवगको माउ र बच्चा देखिन्छ ।

– यसको क्षति बढी भएमा प्रकाश संलेशन(Photosynthesis) को कमी भई धानको कलिलो बुढो सबै पात पहेँलिन थाल्छ र अन्यमा सुकेर जान्छ ।

४. जीवनी(Life-cycle)

– पोथी पुतलीले पातको आधारमा फुल पार्दछ जो मैन जस्तो सेतो पदार्थले ढाकिएको हुन्छ ।

– फुलबाट बच्चाहरू निस्की खानको खोजीमा यताउति हिड्डुल गर्दछन् ।

– यिनको शरीरबाट निस्केको गुलियो पदार्थ खानको लागि कमिला आउने र तिनलेनै यिनको सुरक्षा गरी यिनलाई सुरक्षित स्थानमा पुर्‍याउँदछन् ।

५. व्यवस्थापन विधि(Management Method)

क) कृषिगत तरिका(Cultural Method)

– खेत भित्र र वरपरको झारपात गोडमेल गरी मिलिवगको वैकल्पिक आश्रयस्थललाई नष्ट गर्ने ।

– कीरा अवरोधक जातको प्रयोग गर्ने जस्तै वि.वि.-११ जातमा यो समस्या बढी फिल्डमा देखिएको हुनाले यसको ठाउँमा आगामी दिनमा अन्य जातको प्रयोग गर्ने ।

– खेतमा पानीको सतह बढाउने ।

– सन्तुलित मात्रामा मल खादको प्रयोग गर्ने ।

– सुरुमा देखिन साथ हातले टिपेर नष्ट गर्ने ।

ख) जैविक तथा वानस्पतिक तरिका(Biological and Botanical Method)

– सिकारी कीराहरूको संरक्षण गर्ने जस्तै lady beetles, lacewings, and syrphid flies etc.

– नीममा आधारित विषादी जस्तै Azadirachtin 0.003% ३-५ एम. एल. १ लि. पानीमा मिसाई स्प्रे गर्ने ।

– ५-१० ग्राम जति सर्फ (डिटरजेन्ट पाउडर) प्रति लिटर पानीमा मिसाई बोट भिज्ने गरी स्प्रे गर्ने ।

ग) रासायनिक तरिका(Chemical Method)

– यो कीराको प्रकोप बढी भएमा अन्तिम विकल्पको रूपमा दैहिक कीटनाशक विषादीहरू जस्तै Imidacloprid 17.8% SL १ एम.एल ३ लिटर पानीका दरले मिसाई स्प्रेयरको माध्यमबाट धानको बोट पुरै फेद सम्म भिज्ने गरी स्प्रे गर्ने ।(Waiting period of Imidacloprid17.8%SL 40 day).

कृषक दाजुभाइ तथा दिदिवहिनीहरुमा विशेष अनुरोध:

जीवनाशक विषादीको सुरक्षित प्रयोग: विषादीको उचित रूपमा उपयोग नगरिएमा यसले उपयोग कर्ता, अरू मानिस, घरपालुवा पशुहरू, वन्यजन्तुहरू र लाभकारी कीराहरूलाई समेत हानी पुर्‍याउनको साथै वातावरणलाई पनि नोक्सान गर्दछ ।

१) सामान्य सिद्धान्त:

क) अनावश्यक रूपमा विषादी प्रयोग नगर्नुहोस् ।

ख) सम्भावित खतराबाट सावधान हुनुहोस् ।

ग) विषादीको लेबल र अन्य पर्चाहरू पढ्नुहोस्।

घ) केटाकेटीलाई विषादीबाट टाढा राख्नुहोस् ।

२) कीटनाशक विषादी उपयोग गर्नु अगाडी:

क) विषादी सुरक्षित ठाउँमा तालाबन्दी गरी राख्नुपर्छ ।

ख) स्प्रेयर/डष्टर राम्रो अवस्थामा हुनपर्छ ।

ग) उपकरणलाई काम गर्नु अघि र काम सकिएपछि जाँच गर्नुपर्छ ।

घ) कम घातक (प्रति किलोग्राम ५०१ मिलीग्राम भन्दा माथि एल.डी. ५० भएको) सुरक्षित विषादी प्रयोग गर्नुपर्छ ।

३) मिश्रण बनाउँदा र छर्दा

क) सुरक्षात्मक पहिरन लगाउनुपर्छ, जस्तै: पुरा बाहुलाको कमीज, लामो पतलुङ्ग, जुत्ता वा बुट, चौडा किनारा भएको टोपी, हातमा रबरको पन्जा, मास्क, कृत्रिम श्वास उपकरण आदि ।

ख) चुरोट पिउन वा धम्रुपान गर्नु हुँदैन ।

ग) विषादी अन्य ठाउँमा फैलिन नपाओस् भन्नका लागि विषादीको प्याकेटलाई सावधानीपूर्वक खोल्नुप्नुर्दछ ।

घ) हावाको बहाव कम भएको बेलामा छर्ने गर्नुपर्दछ ।

ङ) बन्द भएको नोजललाई मुखले फुक्नु हुँदैन ।

४) जीवननाशक विषादी प्रयोग पश्चात् :

क) विषादीको प्रयोग गरेका कागजी पदार्थलाई सुरक्षित स्थानमा जलाएर वा गाडेर नष्ट गर्नुपर्छ ।

ख) प्रयोग गरिएको भाडा कम्तीमा ३ पटक साबुन पानीले सफा गर्नुपर्दछ ।

ग) हात मुख राम्ररी साबुन पानीले धुनुपर्दछ ।

घ) उपकरणलाई राम्ररी सफा गरेर राख्नुपर्दछ ।

५) विष लागेका लक्षणहरू र प्राथमिक उपचार:

ओर्गानोफस्फेट र कार्बमेट यौगिकहरू जस्तै मेटासिड, मेटासिस्टक्स, नुभान आदिले कोलिनेष्टेर रोक्दछन्, जसले गर्दा स्नायु प्रणालीमा विकार उत्पन्न हुन जान्छ। टाउको दुख्ने, रिंगटा लाग्ने र वाकवाकी हुने र त्यसपश्चात् जाडो भई पसिना आउने, झाडा लाग्ने र बान्ता हुने लक्षणहरू देखा पर्दछन् । मांसपेशीहरू थर्कनु, भीषण कम्पन हुनु र अचेत नहुने अवस्थाहरू समेत हुन सक्छ ।

प्राथमिक उपचार:

क) रोगीलाई आधा झुकेको रूपमा टाउको तल पर्ने गरी राख्नुपर्दछ ।

ख) बान्ता गराउने व्यवस्था गर्नुपर्छ ।

ग) राम्ररी हावा आउने व्यवस्था मिलाउनु पर्दछ ।

घ) छिटो अस्पताल लैजाने व्यवस्था गर्नुपर्छ ।

ङ) एट्रोफिन सल्फेटको २ मिली ग्राम इन्ट्राभेनस सुई दिनुपर्छ ।

तपाईको प्रतिक्रिया