याम शर्मा
सुर्खेत – कामका रूपमा सबैभन्दा धेरै वा देशको आधा जनसंख्याले रोजेको पेसा कृषि हो । जनगणनाअनुसार कृषि, वन र माछापालन कार्यका दक्ष कामदार देशमा ५०.१ प्रतिशत छन् ।
यसपछि सामान्य वा प्राथमिक पेसाका कामदार २३, सेवा तथा वस्तु बिक्री गर्ने कामदार ५.६ र व्यवस्थापक ५.१ प्रतिशत रहेको पाइएको छ । आर्थिक कामको औद्योगिक क्षेत्रअनुसार वर्गीकरण गर्दासमेत सबैभन्दा धेरै कृषि, वन र माछापालनमा ८५ लाख ८६ हजार मानिस आबद्ध भएको देखिन्छ ।
आर्थिकोपार्जनका लागि देशको आधा जनसंख्या कृषि पेसामा निर्भर भइरहँदा सरकारले भने यस क्षेत्रको प्रवर्द्धनमा गतिलो काम गर्न सकेको छैन ।
“आर्थिकोपार्जनका लागि देशको आधा जनसंख्या कृषि पेसामा निर्भर तर
समयमै मल, बीउ, प्रविधि, सिँचाइ, सहुलियतपूर्ण कर्जा,
उत्पादित वस्तुको मूल्य निर्धारणलगायत सुविधाबाट किसान वञ्चित”
किसानले समयमै मल, बीउ, प्रविधि, सिँचाइ, सहुलियतपूर्ण कर्जा, उत्पादित वस्तुको मूल्य निर्धारणलगायत कुनै पनि सेवासुविधा पर्याप्त पाउन सकेका छैनन् । जनगणनाको सन्दर्भ अवधिमा आर्थिक काम गरेकामध्ये सबैभन्दा बढी आफ्नै काम गर्ने ५५.३ प्रतिशत छन् ।
यसको अर्थ नेपालमा आर्थिक रूपमा सक्रियमध्ये ८२ लाख ९२ हजार ४५ जनाले पैसा कमाउन आफ्नै इलम सञ्चालन गरेका छन् । प्रदेशगत रूपमा हेर्दा, आफ्नै काम गर्ने सबैभन्दा बढी कर्णालीमा ६५.६ र सबैभन्दा कम मधेशमा ४९ प्रतिशत छन् ।
देशको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । जसमा महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) छ ।
समृद्धि कृषि । ११ चैत्र २०७९, शनिबार ०८:३२