सुर्खेत – कर्णाली प्रद्रेशमा हालसम्म ६१ प्रतिशत खेतमा धान रोपाई हुन बाकी रहेको छ । ढिलोगरि मनसुन भित्रियका कारण हाल सम्म ४९ प्रतिशत खेतमा मात्र रोपाई भएको हो । ‘मानो रोपेर मुरी फलाउने’ सिजनका रूपमा रहेको बर्खे बाली धान रोप्नमा किसानहरू व्यस्त रहेका छन् । ठाउँ अनुसार गोरुले जोतेर, जोत्ने मेसिनको प्रयोग गरेर वा खनेर रोपाइँ गर्ने गरिन्छ ।
कर्णाली प्रदेशमा पनि यति बेला रोपाइँ धमाधम भइरहेका छन् । केहीले रोपाई सकिसकेका छन् भने कतिपयले जग्गा तयारी गरिरहेका छन् । अधिकांश पहाडी भूभाग भएको कर्णालीका जुम्ला मा रोपाई सकीयको छ भने अन्य जिल्लामा धमाधम रोपाइँ भइरहेको छ ।
कर्णालीमा धान खेती हुने कूल ४१ हजार ३ सय ५५ हेक्टर जमिन मध्ये हालसम्म १० हजार २ सय ७३ हेक्टरमा ३९।२५ प्रतिशत खेतमा धान रोपाइँ सकिएको कृषि बिकास निर्देशनालय सुर्खेतले जनाएको छ। सबैभन्दा बढी जुम्लामा ८५ प्रतिशत रोपाइँ भएको छ भने सुर्खेतमा ५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि बिकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए।
सुर्खेतमा १५ हजार २ सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म ५ प्रतिशत रोपाइँ सकिएको छ । दैलेखमा कुल धान खेती हुने जमिन ८ हजार ५ सय १२ हेक्टरमा ७।२७ प्रतिशत रोपाइँ सकिएको कृषि बिकास कार्यालय दैलेखका निमित्त प्रमुख दशरथ पाण्डेले बताए । रुकुम पश्चिममा धान खेती हुने जम्मा ३ हजार ४८ हेक्टर जमिनमा ३२, जाजरकोटमा धान खेती हुने जम्मा ३ हजार ६५ हेक्टर जमिनमा २०, सल्यानमा कुल ७ हजार ७२ हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म ३५ प्रतिशत धान रोपाइँ सकिएको छ ।
हिमाली जिल्ला डोल्पामा जम्मा २ सय ७६ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ७५, मुगुमा ९ सय २१ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ४०, जुम्लामा २ हजार ९ सय ५० हेक्टर जमिनमा ८५, कालिकोटमा जम्मा ३ हजार १९ हेक्टर जमिनमा ३६ र हुम्लामा १ हजार २ सय ८४।१२ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ५७।२१ प्रतिशत रोपाइँ सकिएको कठायतले जानकारी दिए ।
किसानले समयमै मल नपाउँदा र सबै क्षेत्रमा समयमै वर्षा नहुँदा कर्णालीमा अहिले गत वर्ष भन्दा कम रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । सिँचाई अभाव र आकाशको पानीमा निर्भर हुँदा गत वर्षभन्दा केही कम रोपाइँ भएको प्रवक्ता कठायतले बताए । ‘सिचाईको क्षेत्र बढाउन नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाइँमा पर्यो ।’
धान लगायतका खाद्यान्न वाली कम उत्पादन हुने कर्णाली प्रदेशमा समयमै पानी नपर्दा धान तथा बर्से बालीको उत्पादन कम हुने भन्दै किसानहरू चिन्तित बनेका छन् । कर्णाली प्रदेशको धेरै ठाउँमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ ।
समृद्धि कृषि । १६ असार २०८०, शनिबार ०९:१२