राष्ट्रपतिमा पौडेल चुनिएलान् कि नेम्बाङ ?

नयाँ राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्बाङबीच प्रतिस्पर्धा हुने छ । दुवै पार्टीले आफ्नोतर्फका उम्मेदवारबारे औपचारिक निर्णय गरिसकेका छन् । अहिलेकै समीकरणअनुसार राष्ट्रपतिमा पौडेल निर्वाचित हुने निश्चित छ । तर तत्काल सरकार नछोड्ने निर्णय गरेको एमालेले टाढिएका दललाई फर्काउन संवादको ढोका खुल्लै राखेको छ । दलहरूको अस्थिर चरित्रका कारण अन्तिसम्म को कतातिर पुग्छन् भनेर अनुमान लाउन कठिन नै हुन्छ । हिजो भएको सहमतिअनुसार, कांग्रेसले अघि सारेका राष्ट्रपति उम्मेदवार पौडेललाई अन्य सात दलको साथ रहने छ । कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले पौडेललाई भोट दिनेछन् । यी पार्टीसित कुल ३१ हजार ९ सय १७ मत छ ।

कांग्रेससँग १६ हजार १ सय ४२, माओवादी केन्द्रसँग ७ हजार ७ सय ४५ मतभार छ । यसैगरी नेकपा एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४, जनता समाजवादीसँग २ हजार १ सय ४५, जनमत पार्टीसँग १ हजार २ सय ४२, लोकतान्त्रिक समाजवादी पार्टीसँग ९ सय ७१ मत छ । यस्तै नागरिक उन्मुक्ति पार्टीसँग ८ सय ९२ र जनमोर्चा २ सय ६ मतभार छ । यी सबै पार्टीले मत दिएको अवस्थामा पौडेलको जित पक्का छ । एमालेका उम्मेदवारलाई ऊबाहेक अर्को कुन दलले सघाउँछ खुलेको छैन । यसअघि एमाले नेतृत्वमा रहेको गठबन्धनमा कित्ता क्लियर गर्न बाँकी राष्ट्रिय स्वतन्त्र पार्टी छ । आजै सरकार छाड्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेका उम्मेदवारलाई सघाउने निश्चित छ । तर राप्रपा र रास्वपा दुवैले साथ दिँदा पनि नेम्बाङले जित्दैनन् । जितका लागि कांग्रेसतिर लागेको माओवादी वा अन्य साना दललाई एमालेले आफूतिर तान्नेपर्ने हुन्छ ।

एमालेसँग १५ हजार २ सय ३३ मतभार छ भने राप्रपासँग २ हजार ४ सय ५० र राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय १ मतभार छ । कतै पनि नखुलेको नेपाल मजदुर किसान पार्टीको २ सय २३ र स्वतन्त्र सांसदहरूको १ सय ९४ मतभार छ । यी सबैको जोड्दा १९ हजार ६ सय मतभार हुन्छ, जुन जितका लागि पर्याप्त होइन ।

अहिले प्रतिनिधिसभामा एउटा सिट रिक्त छ । चितवन( २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएकाले कुल ३ सय ३३ सांसदले भोट हाल्न पाउँछन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता नामावलीमा संघीय संसदमा ३ सय ३१ र प्रदेशमा ५५० सदस्य छन् । तर, निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भइसकेको छ भने फरार सांसद लक्ष्मी कोइरीले पनि भोट हाल्न पाउँदा कुल ३ सय ३३ जना मतदाता हुनेछन् । जित्नका लागि २६ हजार ३ सय ५४ मत हासिल गर्नैपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया