सुर्खेत – कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबारको बैठकमा सरकारको तर्फबाट नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा हरेक वर्ष १० हजार जनालाई रोजागारी प्रदान, कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना लगायतका योजनालाई प्राथमिकतामा राखिएको छ ।
कर्णाली सरकारले अर्ग्यानिक प्रदेशको पुरानै योजनालाई निरन्तरता दिएको छ । यस्तै परम्परागत कृषि प्रणाली निरुत्साहित गर्दै प्रतिस्पर्धात्मक, जलवायु अनुकूलन र उत्पादनशील बनाई अर्ग्यानिक प्रदेशको रूपमा विकास गरिने बताइएको छ भने कृषि अभियानलाई सफल पार्न स्थानीय तहको सह लगानीमा मल उत्पादन कारखाना स्थापना गरिने जनाइएको छ । पशुपक्षी विशेष क्षेत्र तोक्ने, कृषकलाई कलस्टरगत खेती तथा प्रोत्साहित गरिने योजना रहेको समेत प्रदेश प्रमुख परियारले बताए ।
कृषकका लागि कृषि प्राविधिक परिचालन कार्यक्रम लागू गर्नेदेखि ‘कर्णालीले जे बेच्छ मूल्यवान् उपज बेच्छ’ भन्ने अवधारणाअनुसार मूल्यवान लोगो प्रदान गर्ने तथा ब्राण्डिङ्ग, लेवलिङ र गुणस्तर लोगो प्रदान गर्ने कार्यक्रमलाइ निरन्तरता दिइएको छ । यस्तै उत्पादनमुखी कृषकलाई प्रोत्साहन भन्ने मूल्यका साथ परिणाम तथा नतिजामा आधारित उत्पादन, सङ्कलन, ढुवानी र बजारीकरणमा सहयोग गरिनेछ ।
उद्योग स्थापनाका लागि लागत र परिणामको आधारमा स्थानीय तह, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । माछा, मासु, दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषि तथा पशुपक्षी बीमालाई थप प्रभावकारी बनाइने छ भने बैङ्क तथा वित्तीय संस्थाबाट दिएको कर्जालाई भूमिहीन, सीमान्तकृत कृषकलाई प्रोत्साहन गर्न लक्षित वर्ग कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख परियारले बताए ।
सुर्खेतस्थित पशुपक्षी अस्पताललाई प्रदेशस्तरको लिबरल अस्पतालको रूपमा विकास गर्न सङ्घसँग समन्वयन गरिने पनि कार्यक्रममा उल्लेख छ । वैदेशिक रोजगारबाट फर्किएकालाई ज्ञान, सीप, प्रविधि र वित्तीय पहुँचसहितको कार्यक्रममा प्रोत्साहन गरिने र कृषकलाई परिचयपत्र वितरण गरिने समेत नीति तथा कार्यक्रममा जनाइएको छ ।
सहिद घाइते परिवारलाई कृषिमा आकर्षित गर्न बिउ वितरण गरिने, भू–उपयोग गुरुयोजना कार्यान्वयनमा ल्याइने र उत्पादनमूलक सहकारी प्रवर्द्धनमा विशेष जोड दिइने समेत नीति तथा कार्यक्रममा समेटिएको छ । मझौला तथा साना उद्योगलाई व्याज अनुदान कार्यक्रम निरन्तरता दिनुका साथै छिन्चुदेखि मेहेलकुना क्षेत्रलाई औद्योगिक कोरिडोर निर्माण गरिने जनाइएको छ ।
उत्पादन सहकारीमार्फत तुलनात्मक लाभको क्षेत्रमा सामुदायिक लाभ स्थापना गर्न एक वडा एक उत्पादन अवधारणा कार्यान्वयन गरिने र सार्वजनिक–निजी साझेदारीमा आधारित जडीबुटी, मसला, उन तथा रेसादार वस्तु प्रशोधन उद्योग अगाडि बढाइने कार्यक्रममा उल्लेख छ । यस्तै लगानी सम्मेलनको नीतिलाई पुनः निरन्तरता दिइएको छ भने रणनीति कार्यहरू सङ्घीय सरकारको आयोजनामा गरिने बताइएको छ । शिक्षा क्षेत्रमा पनि केही पुराना र केही नयाँ योजनाहरूले प्राथमिकता पाएका छन् भने सामाजिक रूपान्तरणको विषयले पनि यो पटक प्राथमिकता पाएको छ ।
समृद्धि कृषि । २१ जेष्ठ २०८०, आईतवार १९:०६