
काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत विरुद्ध प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणबारे गलत अफवाह फैलाएको दाबीसहित उजुरी दर्ता गरेको थियो । महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले आज एक विज्ञप्ति जारी गर्दै बस्नेतको अभिव्यक्तिविरूद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको उल्लेख गर्नुभएको छ ।
महासंघले बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन गृहप्रशासन समक्ष माग गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनालाई लिएर समाचार स्रोतले गरेको दाबीका कुरालाई उजागर गर्नुभएको थियो । साथै, महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत आग्रह गरेको छ ।
यसै बिच नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपालका अध्यक्ष एंव जनता टाइम्स डटकमका प्रधान सम्पादक गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ । युनियनका महासचिव दिलीप पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर गृह प्रशासनको नेतृत्व गरेको व्यक्तिबाट अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गर्नु निन्दीय भएको उल्लेख गरेका छन् ।
महासचिव पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘गृह प्रशासनको नेतृत्व गरेका व्यक्तिबाट अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गर्नु निन्दनीय कार्य हो ।’प्रेस युनियनले सार्वजनिक पद धारण गरेको व्यक्तिले आलोचनालाई सहन नकसेर साइबर क्राइम मुद्दा दयार गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संग्लनता बारेमा प्रश्न उठाएर चौतारी अध्यक्ष बस्नेतले स्टाटस लेखेका थिए । उक्त स्टाटास बिरुद्ध गहृमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले विहिबार साइबर क्राइम मुद्दा दर्ता गरेका छन् ।गृह मन्त्रीका सचिवालयका व्यक्तिले नै अध्यक्ष बस्नेत विरुद्ध मुद्दा दर्ता गराएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।


समृद्धि कृषि । ५ श्रावण २०८०, शुक्रबार २१:०५