
सुर्खेतः अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारबीच अन्तरक्रिया कार्यक्रम भएको छ । दैैलेखको पर्यटकीय स्थल गुराँसेमा भएको कार्यक्रममा प्रेस चौतारी, पार्टी प्रचार विभाग तथा नेपाल पत्रकार महासंघ जिल्ला र प्रदेश समितिका पदाधिकारीहरू सहभागी थिए ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका कर्णाली प्रदेश इञ्चार्ज यामप्रसाद शर्माले संगठनलाई थप मजबुत बनाउन पेशागत दक्षतासँगै रचनात्मक क्रियाकलापमा जोड दिन आग्रह गरे । ‘प्रेस चौतारी व्यावसायिक पत्रकारहरूको गौरवशाली संगठन हो,’ उनले भने, ‘हामी सबै यसको साख र गरिमा जोगाउँदै अघि बढौं ।’
शर्माले सांगठनिक जीवनमा आइलाग्ने चुनौतिहरूको सामूहिक प्रयासबाट हल गर्न सकिने बताउँदै प्रेस चौतारीका हरेक सदस्यहरु क्रियाशील, अनुशासित, जिम्मेवार र व्यवसायिक बन्नुपर्ने जनाए । प्रेस चौतारी सुर्खेत समितिले गरेको रचनात्मक कार्यको प्रशंंसा गर्दै इन्चार्ज शर्माले आगामी दिनमा पनि यसखालका गतिविधिलाई निरन्तरता दिन सुझाए । उनले संगठनको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पारित गरेका प्रस्तावहरूबारे जानकारी दिँदै चौतारी र चौतारीबाट महासंघको नेतृत्वमा रहेकाहरूले समन्वय र सहकार्यमा अझै जोड दिनुपर्ने आवश्यकता रहेको औँल्याए ।

नेकपा (एमाले) सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले चौतारीमा आवद्ध पत्रकार अरू संगठनभन्दा सिर्जनशील र अब्बल हुनुपर्ने धारणा राखे । पार्टीका तर्फबाट चौतारी सुर्खेतको इन्चार्जसमेत रहेका तिमिल्सेनाले लोकतन्त्र र संघीयताको संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धिका लागि सञ्चारकर्ममार्फत चौतारीका सदस्यहरूले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । ‘तपाईंहरू समाज र नागरिकलाई सुसूचित गर्ने कर्ममा हुनुहुन्छ,’ उनले भने, ‘यहाँहरूले पेशागत मर्यादाको ख्याल गर्दै पत्रकारितामार्फत आफ्नो सिर्जनशीलतालाई प्रकट गर्नुहोस्, यसोगर्दा मुलुकको समग्र विकास र समृद्धिको अभियानलाई बल पुग्नेछ ।’ प्रेस चौतारी एकता र सामूहिक भावनाका आधारबाट अघि बढिरहेकोमा उनले खुसी व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा एमाले दैलेखका प्रचार तथा प्रकाशन विभाग प्रमुख दीपेन्द्र ओली, चौतारीका केन्द्रीय सदस्यहरू, पत्रकार महासंघका पदाधिकारीहरू, चौतारीका प्रदेश पदाधिकारीहरू एवम् चौतारीका अग्रज नेताहरूले आ–आफ्ना धारणा राखेका थिए । सोही अन्तरक्रिया तथा वनभोज कार्यक्रममा प्रेस चौतारी सुर्खेतले १० लाख बराबरको पत्रकार हित कोष स्थापना गर्ने घोषणा गरेको छ । चौतारी सुर्खेतकी अध्यक्ष मुना हमालका अनुसार चौतारी आवद्ध जिल्लाका पत्रकारहरूलाई आपत्त विपद्मा सहयोग गर्ने उद्देश्यले उक्त कोष निर्माण गर्न लागिएको हो ।

समृद्धि कृषि । १९ बैशाख २०८२, शुक्रबार २०:५२