दैलेख उद्योग बाणिज्य संघमा नरेन्द्रबहादुर थापाको प्यानल निर्वाचित

दैलेख – दैलेख उद्योग बाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दैलेख बारका सचिव प्रेम थापाले जानकारी दिएका छन ।

उहाँका प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत पाउनुभएको छ। बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिमाण शुक्रबार विहान घोषणा गरिएको छ । परिणाम अनुसार बाँकी १६ जना सदस्यहरु पनि अध्यक्ष थापाको प्यानल नै निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरुमा कुमार प्याकुरेल, गगनबहादुर कार्की , ध्रुवविक्रम थापा, प्रकाश गहतराज, राधा पंगाली ज्ञवाली, रामबहादुर बिक र सन्तोष श्रेष्ठ नेपाली काँग्रेस समर्थक हुनुहुन्छ भने कविराज ठगुल्ला र भेषराज भण्डारी नेकपा माओवादी केन्द्र नजिक मानिन्छन ।
१६ मध्ये बाँकी सदस्यहरु ओमकार कोइराला, कालु सिंह बोगटी, गंगप्रसाद जैसी, पूण्यप्रसाद शर्मा, बिष्णुकुमारी जैसी र शंकर श्रेष्ठ नेकपा एमालेसंग आस्था राख्नुहुन्छ । एक जना सदस्य योगेन्द्रप्रसाद सिग्देल भने राष्ट्रिय प्रजातन्त्र पार्टीसंग सम्बद्ध हुन ।

पहिले शिक्षण पेशाबाट सेवा निवृत भएदेखि अघिल्ला तीन कार्यकाल दैलेख उद्योग बाणिज्य संघको सदस्य, महासचिव र बरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिसक्नुभएको अनुभव छ । संघीय संरचनापछि सदरमुकाम रित्तो भएको र कोरोना महामारीले मन्दी छाएको व्यापार अभिवृद्धिका गराउने नवनिर्वाचित अध्यक्ष थापाले प्रतिवद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया