हाते ट्र्याक्टरले गोरु विस्थापित

सुर्खेत २९ कात्तिक । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका ११ का डिलबहादुर चौधरी लाई अहिले हलो समात्नै झमेला लाग्छ । उनले हलो नसमात्ने अडान नै लिएका छन । गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उजले बताए । ‘कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन’, उनले भने, ‘गोरु जोतेरै बूढो भइसके । मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन । न त सोचेजस्तो काममा रहर नै लाग्यो । अहिले ट्र्याक्टरले धेरै सजिलो भएको छ ।’
चौधरीका अनुसार अहिले हाते ट्र्याक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ । छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्र्याक्टर नै विकल्प भएको उनी बताउछन। दुइ वर्षअघि बिरेन्द्रनगर नगरपालिका–११ ललित शर्मा को घरमा भर्खर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा उनी असार र मङ्सिरबाहेक बाँकी समय गाउँमा चरिचराउनका लागि पु¥याउथे । उनको घरमा गोरु भएपछि छिमेकीले समेत खेत जोत्ने मौका पाउँथे । घरमा ल्याएपछि दुई महिना गोरु दैनिकजसो जोतिन्थ्यो । पानी नलाग्ने ठाउँमा त कहिल्यै महिनासमेत कुर्नुपर्दथ्यो । गोरु जोत्ने बेलामा ठूला खेतमा त दुई हल गोरुसहित दुई दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो ।

गत बर्ष एक जना आफन्तले हाते ट्र्याक्टर ५० प्रतिशत अनुदानमा ल्याए । उनले आफ्नो खेती मात्रै नभई तीन÷चार जना छिमेकीकै खेती समेत जोत्ने गर्छन । त्यो देखेर उनको परिवारले पनि गोरुको ठाउँमा ट्र्याक्टर नै राख्ने सोच बनायो । किनेका गोरु बिक्री गर्न खोजे पनि किन्ने मान्छे नै भेटिएनन् । पछि अर्कै पालिकाका मान्छेलाई उनको परिवारले सित्तैमा एक हल गोरु दिए । हाते ट्र्याक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम, छिटो हुन थालेको उनी बताउछन।

बिरेन्द्रनगर नगरपालिका ११ कै शिब खड्रकाले पनि तीन वर्ष अगाडि हाते ट्र्याक्टर किने । गोठमा भएका गोरुलाई बेचेर कृषिको अनुदानसहित रु ७५ हजारमा ट्र्याक्टर भित्र्याए । रोपाइँ गर्न महिनाभरि लाग्ने खेतमा ट्र्याक्टरपछि हप्ता दिनमै सकिन थाल्यो । उनी सुरू–सुरूमा आफ्नो मात्रै नभएर छिमेकीलाई समेत मद्दत गर्थे । पछि डिजेलको मूल्य बढ्दै जाँदा ट्र्याक्टर भाडामा समेत प्रयोग गर्न थालेको उनी बताउछन । ट्र्याक्टरमा डिजेल भर्ने तथा केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको उनले सुनाए ।

उनको खेतमा पहिले तिन दिन गोरु जोत्नै लाग्थ्यो । बीस जनाले रोपाइँ गर्थे । गहुँको सिजनमा पनि दुई दर्जन मान्छे चाहिन्थे । हलीसहित सात÷आठ जना पुरुषले बिहानैदेखि खट्नुपथ्र्यो । आजभोलि भने तीन÷चार घण्टामै काम सकिने गरेको छ । ‘आज पनि हामी दुई जना मात्रै थियौँ । तीन घण्टामै जोतेर सकियो । रोपाइँको दिनमा पनि थोरै मान्छे भए नी पुग्छ ।’ उनले भने ।
महिलाले ट्र्याक्टर जोत्नु हुँदैन

अन्धविश्वासका कारण नगरपालिकाभित्रका महिला गोरु मात्रै नभएर ट्र्याक्टरसमेत जोत्दैनन् । ‘हाम्रोतिर गोरु पनि पुरुष, ट्र्याक्टर पनि पुरुषले नै जोत्छन् ।’ उनले भने, ‘यहाँ त महिलाले अहिलेसम्म हलो छोएकै छैनन् । ट्र्याक्टर पनि जोत्दैनन् ।’ महिलाले हलो जोत्दा देउताले रिसाउने भन्ने पूर्खाको भनाइलाई पालना गरेको उनले भने ।

गाउँमा कसैको बारीमा ट्र्याक्टर जोत्नु परे पनि पुरुष नभए बारी बाँझै रहने उनले बताइन । ‘मेरो घरमा सधैँ छोराले मात्रै ट्र्याक्टर जोत्छ ।’ छोरा नभएको बेलामा कुटो कोदालोले आफूले खन्ने गरेको उनी बताउछन ।

खेतमा गोरु जोत्नुभन्दा ट्र्याक्टर जोत्नु धेरै सजिलो हुने कृषक पिठालेककै केशर बस्नेतले बताए । ‘मेसिनरी चिज र पशुहरूमा धेरै फरक हुन्छ । गोरुलाई लाइनमा ल्याउनै मुस्किल पर्छ । मानिस पनि धेरै हुनुपर्छ । ट्र्याक्टर चलाउन भने जसले पनि सक्छ । बिरेन्द्रनगर ११ मा रहेको जनचेतना कृषि सहकारी संस्थाले समेत त्यहाका कृषक लाइ अन्य सरकारी कार्यालय, संस्था, संग सहकार्य गरि अनुदान को लागी सहकार्य गरेको संस्थाका अध्यक्ष काशिराम शर्माले बताए । ’

 

तपाईको प्रतिक्रिया