प्राङ्गारिक आलुखेती प्रविधि

परिचय

प्राङ्गारिक खेती भनेको प्रकृतिका सबै अंगहरु (जल, जमिन, वातावरण, चराचर आदिको उचित संरक्षण, सम्बर्द्धन र प्रयोग गर्दै आफ्नो आवश्यकता परिपूर्ति गर्न गरिने खेतीप्रणाली हो ।

यस खेती प्रणालीमा मानव निर्मित हानिकारक रासायनिक वस्तुहरु (रासायनिक मल, विषादी आदिको प्रयोग नगरि प्राकृतिक रुपमा उपलब्ध वस्तुहरुको प्रयोग गरि माटोको उर्वरापना, पर्यावरण प्रणाली र मानव स्वास्थ्यको सम्बर्द्धन गर्ने गरिन्छ । प्राङ्गारिक खेती एक जिवित र परिवर्तनशील पद्धति हो । यसको उद्देश्य विरुवालाई खाद्यतत्व खुवाई वढि उत्पादन लिनुको बदला माटोलाई खाद्यतत्व खुवाई स्वस्थ्य र उर्वरा माटो व्यवस्थापन गरी निरन्तर उत्पादन लिन सकिने बनाउनु हो ।

प्राङ्गारिक आलुखेतीबाट हुने फाइदाहरू

प्राङ्गारिक आलखेती गर्दा माटोको रासायनिक तथा भौतिक गुण सुधार हुने, बिरुवालाई चाहिदो र सुहाउदो अवस्था हुने र माटोको उर्वराशक्ति बुद्धि हुनेहुँदा दिगोरुपमा उत्पादकत्व बढ्न जान्छ ।

प्राङ्गारिक खेतीबाट माटीमा रहेका मित्र जिवाणुको संख्या बढ्न गई कालान्तरमा उत्पादन बढ्न ठूलो मद्दत गर्दछ प्राङ्गारिक खेतीले माटोको खुकुलोपनाको वृद्धि हुनुको साथै माटोमा पानीको ग्रहण गर्ने क्षमतामा वृद्धि हुनेहुँदा सुख्खा मौसममा पनि केही न केही उत्पादन लिन सकिन्छ ।

प्राङ्गारिक खेतीगर्दा रासायनिक कृषि मल तथा विषादिको प्रयोगले मानव स्वास्थ्यमा देखापर्ने रोगहरु (जस्तैः क्यान्सर, अल्सर, मुटु सम्बन्धी रोग, अपाङ्ग, मृगौला तथा पित्त थैलीमा पत्थर जम्ने आदि) कम हुन जान्छन् ।

प्राङ्गारिक रुपमा खेती गरिएको आलु खानामा मिठो स्वाद हुने र पकाउँदा राम्रोसग पाक्ने हुन्छ । प्राङ्गारिक रूपमा उत्पादन गरिएका आलुहरु लामो समयसम्म भण्डारण गर्न सकिने कुरा कृषकहरुको अनुभवबाट थाहा भएको छ ।

अन्य देशमा गरिएको परिक्षणबाट थाहा भएअनुसार प्राङ्गारिक खेती गरिएको आलुमा सुख्खा पदार्थको मात्रा बढि हुने र परिवर्तनशील चिनीको मात्रा कम हुने हुन्छ । प्राङ्गारिक खेती गर्दा वातावरणको संरक्षण हुने र शुद्ध पानीको उपलब्ध हुने हुन्छ । प्राङ्गारिक उत्पादन प्रति बढ्दै गएको उपभोक्ताको रुची र बढि मूल्य पर्ने हुँदा कम उत्पादनबाट पनि सीमित जग्गाबाट बढि आम्दानी हुनसक्दछ ।

प्राङ्गारिक आलुखेतीका समस्याहरु

प्राङ्गारिक खेतीको लागि बढि उत्पादन दिने जातको प्राङ्गारिक मल तथा विषादिको बारेमा पूर्ण जानकारी नहुनु

उत्पादनकर्ताले विक्री गर्ने स्थान र उपभोगकर्ताले खरिद गर्ने पसलको पणरुपमा जानकारी नहुनु ।

उत्पादित वस्तु प्राङ्गारिक हो भनी प्रमाणित गर्ने संस्था तथा अभाव हुनु ।

नेपाल सरकारवाट प्राङ्गारिक वस्तु उत्पादन गर्नको लागि अनुदान व्यवस्था नहुनु प्राङ्गारिक खेती कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी र आधिकारिक निकायको व्यवस्था नहुनु ।

प्राङ्गारिक खाद्यवस्तुको महत्वको बारेमा जनचेतना तथा प्रचार-प्रसार को कमि हुनु आदि ।

प्राङ्गारिक खेतीको शुरुवात

हरितक्रान्ति र आधुनिक कृषि प्रणालीले गर्दा उत्पादनमा बृद्धि भए तापनि यस्को मानव स्वस्थ्यमा तथा प्रकृतिमा भएको असरबारे पछि आएर मात्र ज्ञान भयो र यसको बैकल्पिक उपायको खोजीगर्ने क्रममा परम्परागत कृषि प्रणाली तर्फ मान्छेको ध्यान आकर्षण भयो ।

सो तरिकामा गरिएको वाली व्यवस्थापनलाई बैज्ञानिक ढंगले विश्लेषण र आधुनिक खेती प्रणालीलाई समायोजन र विस्तारित गरि प्राङ्गारिक खेतीको शुरुवात भएको देखिन्छ । प्राङ्गारिक कृषि खेती स्वास्थ्य, पर्यावरणिय, निष्पक्षता र हिफाजतको सिद्धान्तमा आधारित हुन्छ ।

आधुनिक प्राङ्गारिक खेतीको शुरुवात पोल्याण्डको सिल्सी क्षेत्रबाट भएको अनुमान गरिएको छ । अष्ट्रियन दार्शनिक डा. रुडल्फ स्टाइनरले कृषि प्रणालीलाई जैव गतिशिल ढाँचामा ढाल्न प्रेरित गर्नुभएको थियो । सन् १९०७ मा मेरिटा जोहन्सन अफ स्कूल अफ अर्गानिक एजुकेशन, यू. एस. ए. ले School of Tomorrow नामक पुस्तक प्रकाशन गयो । त्यसैगरी शरअवंट होवार्डले १९४० मा एन एग्रीकल्चर टेस्टमेन्ट पुस्तक प्रकाशन गरि प्राङ्गारिक खेतीको विकास तथा विस्तार गरेको पाईन्छ, जसलाई अर्गानिक खेतीका पिता भनिन्छ ।

सन् १९६० मा रावेल कार्सनद्वारा ‘Silent Spring’ नामक पुस्तक प्रकाशन गरे पश्चात्: विषादिको असर बारे विश्वव्यापी चिन्ता शुरु भयो ।

सन् १९७० मा यूरोप र अमेरिका प्राङ्गारिक खेतीतर्फ संगठित भयो ।

सन् १९८० मा यूरोप र अमेरिका प्राङ्गारिक कृषि अभियानको रुपमा लागेको पाइन्छ ।

नेपालमा प्राङ्गारिक कृषिको शुरुवात वि.सं २००४ (सन् १९८६) देखि INSAN (Institute for Sustainable Agriculture Nepal) शुरु गरेको पाईन्छ । पछि १९९२ मा पर्मा कल्चर ग्रुपबाट यसको विकास र विस्तार भैरहेको छ । विश्वमा २००५ को तथ्याङ्ग अनुसार ३१ खर्व डलर मूल्यको प्राङ्गारिक वस्तुको व्यापार भएको पाइन्छ जुन प्रतिवर्ष २५ प्रतिशतले वृद्धि हुँदै गईरहेको छ भने नेपालमा १०,००० हेक्टर प्राङ्गारिक कृषिका लागि प्रमाणित भएका फर्महरु छन् ।

स्रोत :- नेपाल कृषि अनुसन्धान परिषद्

तपाईको प्रतिक्रिया