कर्णालीमा वर्षासँगै हिमपात, कृषकहरू खुसी

सुर्खेत ११ माघ । कर्णाली प्रदेशका उच्च लेकाली स्थानमा हिमपात भएको छ । कर्णालीका डोल्पा, हुम्ला, मुगु, जुम्ला, कालीकोट, जाजरकोट, रुकुम र दैलेखमा गए रातिदेखि मौसममा बदली आएसँगै हिमपात भएको हो । सुदुरपश्चिमका हिमाली जिल्लाहरुमा समेत हिमपात भएको छ ।

वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण सुदूरका पहाडी क्षेत्रमा जनजीवन प्रभावित भएको छ । पानी नपर्दा किसानहरूले लगाएको गहुँ, आलु, दलहन बाली तथा बेमौसमी ताजा तरकारीलगायतका बाली सुकेर जाँदा चिन्तित भएका कालीकोटका कृषक वर्षा र हिमपात भएपछि उत्साहित भएका छन् ।

कर्णालीका हिमाली जिल्ला जुम्लासहित मुगु, हुम्ला र डोल्पामा हिमपातसँगै वर्षा सुरु भएको छ । जुम्लामा आज बिहान ५ बजेबाट हिउँ पर्न थालेको हो । यस्तै कालिकोट, सुर्खेत र दैलेखमा पनि वर्षा भइरहेको छ । हिउँ पर्दा जनजीवन भने तत्काललाई प्रभावित भएको छ ।

हिउँ नपर्दा चिन्तित जुम्लाका किसान हिउँ पर्न थालेपछि बालीनाली सप्रिने र उत्पादन बढ्ने आशामा खुशी भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । जुम्लाका स्याउ किसानलाई वर्षासँगैको हिमपात फलिफाप भएको छ । अहिले पर्याप्त हिउँ परे हिउँदे बाली जौ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुने छ ।

हिमपातले विशेष गरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिउँ नपरेर बाली सुक्न थालेका बेला उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा मद्दत पुग्ने देखिएको छ ।

हिमपातका कारण कर्णालीको हवाइ तथा सडक यातायात ठप्प भएको छ । जुम्ला नेपालगन्जको उडानसँगै मुगु, हुम्ला, र डोल्पाको हवाइ उडान तथा कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकको यात्रा पनि रोकिएको छ । हिमपातपछि राहत उद्धार तथा पुनःस्थापनाको पूर्वतयारी बलियो बनाइएको र तीनवटै सुरक्षा निकाय तैनाथ अवस्थामा रहेको प्रशासनले जनाएको छ ।

विपत् व्यवस्थापन तथा मौसमविद् डा। धर्मराज उप्रेतीका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका अधिकांश भागमा हिमपात तथा तल्लो तटीय क्षेत्रमा हल्का वर्षा भइरहेको छ, जुन भोलिसम्म रहने छ । हिजो साँझदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभाव बुधबारसम्म पश्चिममा रहने उनले बताएका छन् । त्यसपछि पुनः पश्चिमी वायु प्रवेश गर्ने र यस हप्ताको अन्त्यसम्म रहने छ । जसले काठमाडौँलगायत पूर्वी पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात गराउने छ ।

तपाईको प्रतिक्रिया