रासायनिक मलको अनुदान कटौति प्रति आपत्ति

सुर्खेत । अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेश समितिले नेपाल सरकारले फागुन २६ गते गरेको रासायनिक मल सम्बन्धी निर्णयमा असन्तुष्टि जनाएको छ । रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानआकर्षण भएको महासंघले जनाएको छ । संघका कर्णाली प्रदेश अध्यक्ष बखतबहादुर भण्डारीद्धारा जारी प्रेस विज्ञप्तीमा सरकारले निर्णय अनुसार किसानले १४ रुपैयाँमा खरिद गर्दै आएको युरियाको मूल्य २५ रुपैयाँ पुर्याइएकोप्रति असहमति जनाउँएको हो । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘किसान महासंघले ४३ रुपैयाँको डीएपी ५० र ३१ रुपैयाँको पोटास ४० रुपैयाँको भएको छ । मलमा भएको यसप्रकारको अनुदान कटौतीको निर्णयले कृषि मल्यवृद्धि भई उपभोक्ता समेतलाई मार पर्ने स्थिति देखिन्छ । खेतीको समयमा प्रायः मलको अभाव खेपिरहेका किसानलाई अझ समस्यामा धकल्ने गरि आएको अनुदान कटौतीको निर्णयले किसान र कृषिलाई थप निरुत्साहित गरेको छ ।’

यस्तै, किसान महासंघ कर्णाली प्रदेश भण्डारीले सरकारले गरेको यो निर्णयले देशका ६० प्रतिशत किसान, समग्र कृषि क्षेत्र र आम उपभोक्ताहरुमा गम्भीर असर पारेको बताए । किसान महासंघका कर्णाली प्रदेश सचिव धर्मराज ढुंगानाले सरकारको तर्फबाट किसान र कृषि क्षेत्रका लागि दिँदै आएको एकमात्र अनुदान कटौती गर्ने निर्णय असंवेदनशील र गैरजिम्मेवार निर्णय भएको भन्दै अबिलम्ब फिर्ता लिन सरकारसँग माग गरे । साथै उनले यी माग यथाशीघ्र पूरा नभएको खण्डमा आन्दोलनका कार्यक्रममा तय हुने चेतावनी दिए । यस्तै, चैत ३ गते जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने साथै स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी आवश्यकताका आधारमा संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने किसान महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया