हाईटेक नर्सरी स्थापना प्रकरणमा १२ विरुद्ध भ्रष्टाचार मुद्दा

कालीकोट – कृषि ज्ञान केन्द्र कालीकोट ९हाल कृषि विकास कार्यालय कालीकोट० का तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियारको अनुसन्धानमा ६६ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार भएको भेटिएको छ। सरकारी अनुदान हिनामिना गर्ने तत्कालीन निमित्त कार्यालय प्रमुख बस्नेतसहित मूल्यांकन तथा छनोट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास संस्था कालीकोटका अध्यक्षसमेतविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सहसचिव भोला दाहालले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध सरकारी अनुदानको पेस्की रकममा सम्झौताअनुसार काम नगरी हिनामिना गरेको विशेषमा मुद्दा हालेको छ।

प्रमुख बस्नेतसहित खाँडाचक्र नगरपालिकाका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय कालीकोटका सबइन्जिनियर गुरुराज संज्यालले सम्भाव्यता अध्ययनसमेत नगरी प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध गराइएको अनुदान रकममा अनियमितता गरेको आरोप छ।

आयोजनाका लागि आवश्यक विद्युत् आपूर्तिसमेत नभएको अवस्थामा सो स्थानमा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त छ भनी सिफारिससमेत गरी आवश्यक पुस्ट्याइँका आधारहरू संलग्न नगरी हचुवाको भरमा लागत अनुमान तयार गरेको पाइएको छ।

हाइटेक नर्सरीको लागि खरिद गरिएका यन्त्र उपकरणहरूको मूल्यसमेत अत्याधिक रूपमा बढाएर लागत अनुमान तयार गरेको अख्तियारको आरोपपत्रमा छ।

यस्तै, कर्णाली प्रदेश सरकारको अनुदान ग्रहण गरी नर्सरी सञ्चालनमै नआएको अवस्थामा सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडबाट जडान भएका मालसामानहरूको अवलोकन तथा परीक्षण नै नगरी कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारको अनुसन्धानमा छ।

सोही प्रतिवेदनसमेतका आधारमा ६६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरी भ्रष्टाचार गरेको पाइएको छ।

यस्तै, मूल्यांकन तथा छनौट समितिका पदाधिकारीहरू हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दीपककुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा, होमनाथ लम्साललाई पनि प्रतिवादी बनाइएको छ।

उनीहरूले वास्तविक फिल्ड अध्ययन नगरी उक्त सहकारी संस्थाको वित्तीय सक्षमता र वस्तुस्थिति एवं पूर्वाधार अध्ययन र मूल्यांकनसमेत नगरी कार्यालय प्रमुख बस्नेतले पेस गरेको गलत मूल्यांकन प्रतिवेदनउपर छानबिन नगरी बदनियतपूर्वक तवरले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशमा पेस गरी गलत प्रतिवेदन दिने कसुर गरेको आरोप पत्रमा उल्लेख छ।

साथै, सिमनाथ कृषि विकास सहकारी संस्था, कालीकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्र बहादुर शाही र सिमनाथ कृषि विकास सहकारी संस्थाको हकमा विद्युत् नै नभएको ठाउँमा विद्युत् चाहिने आयोजनाका लागि अनुदान माग गरेको पाइएको छ। संस्थागत आर्थिक सक्षमता नभएको अवस्थामा समेत पूर्वाधार नै तयार नभएको योजनाबाट ठुलो संख्यामा रोजगारी दिलाउने गलत आश्वासनसहितको प्रस्ताव तयार गरिएको छ।

प्रस्तावका आधारमा तत्कालीन कृषि ज्ञान केन्द्रसँग सम्झौता गरेको, सम्झौताबमोजिम नर्सरी सञ्चालन नगरेको अनुसन्धानमा भेटिएको छ।

आवेदन दिने समयमा कबुल गरेको बाली उत्पादन तथा रोजगारीसमेत सिर्जना नगरी जालसाझीपूर्ण तवरले अनुदानको रकम दुरुपयोग गरेको आरोपमा मुद्दा दायर भएको अख्तियर प्रवक्ता दाहालले बताए।

भ्रष्टाचारमा संलग्न बस्नेतसहित १२ विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायसहित बिगो असुलउपर गर्न मागदाबी गरिएको छ।

तपाईको प्रतिक्रिया