कृषक समुह महासंघ अध्यक्षमा केसी

सुर्खेत । राष्ट्रिय कृषक समुह महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशन सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनले सन्तबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ ।गठित कार्यसमितिको उपाध्यक्षमा टिका जैसी, सचिवमा केशव शाही, सह सचिवमा विद्या आचार्य (ढकाल), कोषाध्यक्षमा हिरा रसाईली रहेका छन् ।

यस्तै, सदस्यहरुमा रत्न बहादुर वली, डिलकुमारी थापा, तेजबहादुर थापा, उषा चन्द, निर्मला खत्री, प्रेमप्रकाश शर्मा, कर्णबहादुर विष्ट र जानकी विष्ट चयन भएको नवनिर्वाचित सचिव केशव शाहीले जानकारी दिए । त्यसअघि अधिवेशनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले गरेका थिए। उद्घाटनलाई सम्वोधन गर्दै शाहीले कृषकहरु व्यावसायीक बन्नुपर्ने बताएका थिए ।

उनले अबको स्थितिमा निर्वाहमुखी खेतीले प्रगति हासिल गर्न नसकिने बताउँदै जुनसुकै पेशामा पनि व्यावसायीकता आवश्यकता पर्ने बताए । राष्ट्रिय कृषक समूह महासंघ कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषकहरुले मल, बिऊ, सहुलियतपुर्ण ऋण, रोग किराको प्रकोप, बजारको व्यवस्था लगायतका समस्याहरु राखेका थिए ।

उनीहरुले राज्यले सस्तो व्याजदरमा ऋण उपलव्ध गराएमा आफुहरुले व्यवसायको आकार परिवर्तन गर्न सकिने बताएका थिए । अधिवेशनमा कर्णाली प्रदेशका ६ जिल्लाका कृषकहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया