सुर्खेत – लामो खडेरीका कारण कर्णाली प्रदेशमा मकै बाली नष्ट हुन थालेको छ । कर्णालीका मकै धैरै लगाउने जिल्लाहरु दैलेख, सुर्खेत, जाजरकोट, रुकुम, सल्यान मा लगाइएको मकैबाली खडेरीका कारण नष्ट हुन थालेको हो । बिरेन्दनगर नगरपालिका– १० का कृषक प्रेम चौधरी अघिल्लो बर्ष १९ जेठमा धानको बीउ राखेर असार पहिलो सातामै धान रोपाइँ गरिसकेका थिए ।
यो पटक भने पानीको अभावमा अहिलेसम्म पनि बीउ राख्न सकेका छैनन् । आकाशबाट पानी झर्ला र बीउ राखुँला भन्याको पानी आउँदैन । अहिले साल त हामी कृषकलाई समस्याभयो,’ उनले भने,‘ लामो समय सम्म पानी नपर्दा धानको बिउ राख्न पाईको छैन । यो पटक खडेरीले गाउँमा रहेका ईनार समेत सुकेकोले खानेपानीसमेत जोहो गर्न मुस्किल परिरहेको उनको दुःखेसो छ ।
त्यस्तै बिरेन्द्रनगर १२ का कृषक गिता तिमिल्सेना बारीमा टन्नै लगाएको तरकारी पनि लामो खडेरीका कारण सुक्न लागेको छ । उनले करिब १० कठ्टा जमिनमा लगाएको तरकारी सुक्न लागेको बताइन । चर्को खडेरीका कारण खेतमा २ पटक लगाएको मकै सुकिसक्यो । उनि भन्छिन,हामी किसानलाई त यो प्रकृतिले पनि बडो दुःख दिन लाग्यो।’
नौमुले गाउँपालिका–१ दैलेखका नगेन्द्र ढकालले झण्डै ५२ केजी मकैको बीउ बारीमा लगाएका थिए । खडेरीले उम्रिएका मकै सखाप हुन थालेपछि उनी चिन्तित छन् । ‘अहिलेको जस्तो उखरमाउलो खडेरी कहिल्यै परेको अनुभव छैन,’ उनले भने,‘पहिला त हामी यो बेला पहिलो पटकको मकै गोडेर पनि खेत रोपाइँ गर्न सुरु गरिसक्थ्यौँ ।’
नौमुले क्षेत्रतिर मकै दुई पटक गोडमेल गर्ने चलन छ । साथै उनले एउटा खेतको लोहोरे खोलाको पानीबाट धानको बीउ राखेपनि खडेरीका कारण अरु खेतमा साना खोलाहरु सुक्न थालेपछि बीउसमेत सुक्न थालेको पीडा सुनाए । दैलेखका मटेला, चिनेजिउला, पादुका, सुवाखेत, राकम कर्णाली, नौमुले लगायतका ठुल्ठुला धाने जिउला ९खेत० यतिबेला पानीको अभावमा रोपाई हुन सकेको छैन ।
चर्को खडेरीका कारण यो समस्या कर्णाली प्रदेशभरको साझा समस्या हो ।भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार खडेरीका कारण कर्णालीका सबै जिल्लामा हुने बर्खे बालीमा प्रत्यक्ष असर परेको छ ।
अधिकारी भन्छन्,‘यो पटक यहाँका कृषकहरु दोहोरो मारमा परेका छन् । भारी बर्षात्का कारण गएको वर्ष भत्किएका सिँचाई कुलो बनाउने क्रम जारी छ । तर, प्राकृतिक विपत्तिलाई त के गर्न सकिन्थ्यो । कर्णाली प्रदेशका धेरै स्थानमा लामो खडेरीका कारण मकै बालीमा ठूलो असर पुगेको छ।
समृद्धि कृषि । २९ जेष्ठ २०८०, सोमबार १७:०६