
सुर्खेत – नेपाली कांग्रेस सुर्खेतले सनिबार गर्न लागेको जिल्ला सम्मेलनमा कांग्रेसभित्रको अर्को समहु अर्थात हृदयराम थानी पक्ष सहभागी नहुने भएको छ । संस्थापन पक्षले पार्टीका इत्तर पक्षलाई बे–वास्ता गरेको, कुनै सर–सल्लाह नै नगरेको भन्दै इत्तर पक्ष सम्मेलनमा सहभागि नहुने भएको हो ।
सुर्खेतमा पार्टी उपसभापति पुर्णबहादुर खड्का र कांग्रेस नेता हृदयराम थानीको बीच प्रतिस्पर्धा हुने गरेको छ । कुनै समय थानी पक्षको बाहुल्यता रहेको सुर्खेतमा पछिल्लो समय पुर्णबहादुर खड्का पक्षको दबदवा रहेको छ । कांग्रे सुर्खेतका सभापति खड्गबहादुर पोखरेलका अनुसार सनिबार बिहान ११ बजेदेखि वीरेन्द्रनगरको शिद्धार्थ होटेलमा कांग्रेसको प्रथम जिल्ला सम्मेलन सुरु हुने छ ।
उक्त सम्मेलनमा सुर्खेत जिल्लाका क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, ९९ वडाका सभापति लगाएत सम्पुर्ण कार्यसमिति सदस्य हरु ९ वटै पालिका सभापति लगाएत पदाधिकारी सदस्य हरु, ४ वटै प्रदेश सभा सभापति लगाएत पदाधिकारी सदस्यहरु, २ वटै क्षेत्रका सभापति लगायत पदाधिकारी सदस्यहरु, जिल्ला कार्यसमिति पदाधिकारी सदस्यहरु, सुर्खेत जिल्ला बाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, कर्णाली प्रदेश सदस्य तथा पदाधिकारीहरु, कांग्रेस सम्बद्ध संगठनहरुलाई समेत सहभागीताका लागि अनुरोध गरिएको छ ।
यद्यपि थानी पक्ष भने उक्त सम्मेलनमा सहभागि नहुने थानी पक्षधर एक नेताले बताए । ‘सम्मेलनबारे हामीसँग कुनै छलफल भएको छैन, उहाँहरुले हामीलाई बेवास्ता गर्नुहुन्छ, हामीलाई पार्टीको मान्छे जस्तो ठान्नुहुन्न,’ ती नेताले भने,‘ हामी किन सहभागि हुने रु’ थानी पक्ष ०७९ को स्थानीय तहको निर्वाचनदेखिनै खड्का पक्षसँग असन्तुष्ट छ । थानी पक्षले उम्मेदवारमा ४० प्रतिशत हिस्साको माग गरेको थियो । तर, खड्का पक्षले थानी पक्षलाई पेलेर नै अगाडि बढ्यो ।
थानी पक्षका एक नेता भन्छन्,‘पार्टीमा मनोनित गर्ने सवालमा होस् वा भूमिका दिने सवालमा हामीलाई भूमिका विहीन बनाइएको छ । हरेक जसो ठाउँमा इत्तर पक्षलाई बाइपास गर्ने कामहरु भएका छन् ।’ ०७४ मा थानी समहु जिल्लको नेतृत्वमा थियो । त्यो बेला एक्लाएक्लै चुनावमा जाँदा ६ पालिका र जिल्ला समन्वय समितिमा एक्लै जितेको थियो । तर, ०७९ मा माओवादीसँग गठबन्धन गरेर चुनावमा जाँदा पनि कांग्रेस कमजोर बन्यो । जिल्ला विकास समिति गुमायो ।
पुर्णबहादुर खड्का महामन्त्री हुने बेलादेखिनै जिल्लामा दुईपक्षबीच अन्तरविरोधको सुरुवात भएको थियो । त्यो बेलामा नै विधि र प्रक्रिया पुरा गरेर ७०६ जना सदस्यलाई खड्का पक्षले फालेको थियो भने आफुखुसी पार्टी सदस्यता भरेको थानी पक्षको आरोप छ । थानी पक्षले सनिबार हुने कार्यक्रमलाई एउटा गुटको र कर्मकाण्डी कार्यक्रमको संज्ञा दिएको छ ।

समृद्धि कृषि । १५ असार २०८०, शुक्रबार १८:५६