सुर्खेत – कर्णालीमा लम्पी स्किन रोगको संक्रमण महामारीका रूपमा फैलिएको छ । संक्रमण नियन्त्रण बाहिर गएपछि कर्णालीका सुर्खेत , दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोटका कृषकहरू बढी समस्यामा परेका छन । खेतिपाती लगाउने समयमा रोग महामारीको रुपमा आएपछी यहाका कृषकहरू समस्यामा छन् ।
कर्णालीमा लम्पी स्किन रोगको संक्रमणबाट अहिलेसम्म झण्डै ७ हजार भन्दा बढी पशुचौपायाको मृत्यु भइसकेको छ । जसमा सबै भन्दा बढी दैलेख सुर्खेत , सल्यान, जाजरकोट मा धेरै प्रभाबित भएका छन ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जानकारी अनुसार ६ हजार सात सय ४१ पशुचौपायाको हाल सम्म मृत्यु भएको जनाएको छ । संक्रमणका कारण २ लाख १७ हजार एक सय ३५ वटा चौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको मन्त्रालयका पशु विकास अधिकृत प्रचण्ड खड्काले जानकारी दिए ।
संक्रमित हुनेमा धेरैजसो गाई र गोरुहरू रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हालसम्म १२ हजार सात सय ४३ पशुहरूलाई खोप लगाइएको खड्काले बताए । रोगको प्रकोप बढी फैलिए पनि मृत्युदरमा भने कमी देखिएको उनले बताए ।
‘हामीले सबै जिल्लामा खोप त पठायौं तर, खोप भने लगाउन सकिएको छैन,’ उनले भने, ‘संक्रमण देखिएको पशुमा लगाउन नमिल्ने भएको कारण खोप लगाउन सकिएको छैन ।’ यो खोप स्वस्थ पशुमा मात्र लगाउने भएका कारण जिल्लामा पठाइएको खोप स्टक रहेका छन् ।
विशेष गरी बर्खे खेती लगाउने समयमा गोरुमा लम्पी स्किनको संक्रमण बढेपछि खेती लगाउन समस्या भएको किसानहरूको गुनासो छ । यसले गर्दा उत्पादनमा ह्रास आउने मन्त्रालयको अनुमान छ । ‘विशेषगरी कर्णालीका पहाडी जिल्लामा खेती लगाउँदा जोत्नका लागि गोरुको प्रयोग हुन्छ । यही बेलामा पशुहरूमा रोगको संक्रमण फैलिएका कारण उत्पादन घट्ने सक्ने अनुमान गरेका छौं,’ पशु विकास अधिकृत खड्काले भने ।
समृद्धि कृषि । ६ श्रावण २०८०, शनिबार १९:३९