शिवशिखरको ठगी धन्दा ७ बैंकबाट ४ अर्ब ७० करोड ऋण

काठमाडौं। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न बैंकहरुबाट ४ अर्ब ७० करोड रुपैयाँको ऋण लिएको खुलेको छ।

सहकारीका पूर्व अध्यक्ष एवम् व्यापारी केदारनाथ शर्माविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धानपछि जिल्ला अदालत काठमाडौं र ललितपुरमा सहकारी ठगी मुद्दा दायर भएको छ। अनुसन्धानका क्रममा शिवशिखरले बचतकर्ताको मात्र होइन विभिन्न बैंकहरुबाट समेत ऋण लिएर रकम चलाएको खुलेको छ।

प्रहरीको अनुसन्धानमा विभिन्न सात वाणिज्य बैंकबाट सहकारीले  ४ अर्ब ७० करोड रुपैयाँ ऋण लिएको देखिएको छ। एसबीआइ बैंकबाट १ अर्ब ७६ लाख रुपैयाँ लिएको देखिन्छ। शिवशिखर खाद्य उद्योग, शिखर अर्गनाईजेसन, नटराज फुड्स, शिखर स्पाइस कम्पनीको नाममा फ्याक्ट्री धितो राखेर ऋण लिएको छ।

त्यस्तै नबिल बैंकबाट २८ करोड रुपैयाँ तुलसी मोटर पम्प प्रालिको नाममा ऋण जारी भएको छ। माछापुच्छ्रे बैंकबाट शिखर दीप एग्रो (५०) र  गोरखा टी (२०) कम्पनीको नाममा ७० करोड रुपैयाँ लिएका थिए। मेगा बैंकबाट ७३ करोड, प्रभु बैंकबाट शिवशिखर एग्रो प्रालिको नाममा ३८ करोड रुपैयाँ लिएका थिए। जसका लागि गाडी र जग्गा धितो राखेको देखिएको छ।

त्यस्तै सनराइज बैंकबाट १० करोड शिखर मेसिनरी एन्ड अटोमोबाइल प्रालिको नाममा घरजग्गा धितो राखेर ऋण लिएको खुल्छ। त्यसै गरी हिमालयन बैंकबाट ७५ करोड रुपैयाँ विभिन्न फ्याक्ट्री र जग्गा धितो राखेका छन्।

सहकारी संस्थाको विनियममा नियामक निकायबाट स्वीकृत प्राथमिक सेयर पुँजी ६ लाख २८ हजार रुपैयाँ उल्लेख रहेकोमा सहकारी ऐन २०७४ दफा ५०(७) विपरीत पुँजी र बचत संकलन गरी सो रकम दुरुपयोग गरी त्यसबाट  ४६ वटा कम्पनी खोली लगानी गरेको देखिएको थियो।

संकलित १० अर्ब २९ करोड २९ लाख २६ हजार २ सय ६० रुपैयाँ बचत रकम समेत दुरुपयोग गरी कम्पनी खडा गरेर तिनमा लगानी गरेको देखिएको हो।

शर्माविरुद्ध सहकारी ठगीमा निक्षेपकर्ताबाट १४ अर्ब रुपैयाँ घोटाला भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। शिवशिखरका देशभर ३६ वटा शाखाबाट विभिन्न चरणमा ठगी गरेको खुलेको छ। प्रहरीले दुई महिना लामो अनुसन्धानपछि रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ। जिल्ला अदालत काठमाडौं र ललितपुरमा मुद्दा दायर भइसकेको छ।

केदारनाथ शर्माका धेरै ठाउँ जग्गा

असार १२ गतेदेखि उनी प्रहरीको हिरासतमा छन्। प्रहरीको अनुसन्धानमा शर्माको नाममा देशका विभिन्न जिल्लाहरूमा जग्गा रहेको पाइएको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, म्याग्दी, भक्तपुर लगायत स्थानमा जग्गा रहेको देखिएको हो। उनको नाममा ४४ हजार ८०५ वर्ग मिटर (८८ रोपनी) क्षेत्रफलमा जग्गा छ।

त्यस्तै उनकी श्रीमती बाँके कोहलपुरकी गीता शर्मा पनि हिरासतमा नै छिन्। उनको नाममा पनि विभिन्न ठाउँमा जग्गा रहेको खुलेको छ। उनको नाममा काठमाडौंको कलंकी, धादिङ, बाँके, चितवन लगायतका स्थानमा जग्गा छ। शर्माको नाममा देशभर ३३ हजार ७५६ वर्ग मिटर जग्गा रहेको देखिन्छ।

त्यस्तै शिवशिखरका नाममा खोलिएका विभिन्न कम्पनीको नाममा पनि देशका विभिन्न स्थानमा जग्गा खरिद गरेको खुलेको छ। यसरी हेर्दा सहकारीको लागि जग्गामा गरेको देखिएको हो।

शर्मा दम्पतीले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा १/१ करोडको जीवनबीमा गरेको देखिन आएको छ।

तपाईको प्रतिक्रिया