कर्णाली राजमार्ग  अवरुद्ध गर्ने तयारीमा मृतबालक पुरीका आफन्त

सुर्खेत – वीरेन्द्रनगरको मुलपानी नजिकै एक नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिदाँ घटनास्थलमै निधन भएका, दैलेखको आठबीस नगरपालिका वडा नं। ६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीका आफन्तले आजदेखि भरणबद्ध आन्दोलन गर्ने तयारी गरेका छन् ।

घटना घटेको २४ घण्टा पुगेपनि प्रहरीले दुर्घटनाकर्तालाई जोगाएको उनका आफन्तहरुले आशंका गरेका छन् ।
मामाको घरबाट फुपुको घर जाने भन्दै घरबाट निस्केका दिग्दर्शनलाई जेव्राक्रसमै उक्त मोटरसाईकलले हानेको थियो । मोटरसाइकलले ठक्कर दिएपनि उनलाई चालकले झण्डै १५ मिटर भन्दा बढि मोटरसाइकलको लेकगार्डमा लतार्दै लगेको र सो कारण उनको निधन भएको आफन्तको भनाई छ ।

‘आज विहान दश बजेसम्म हामी कुर्छौं, नभए हामी कर्णाली राजमार्ग नै अवरुद्ध पार्छौं ।’ आठबीस ६ खिड्कीज्यूलाका लक्ष्मी प्रसाद जैसीले भने, ‘राज्यले यस्तो जघन्य घटना गर्नेलाई तत्काल कानूनी कारवाहीमा ल्याउनुपर्नेमा उल्टै ढिलासुस्ती गरेको छ । राज्यले हाम्रा कुरा राजमार्ग बन्द नगरेसम्म नसुन्ने भएका कारण हामी अब यो चरणमा पुग्न लागेका छौं ।’

उता, वडा नं-६ का वडाअध्यक्ष नमराज शर्माले राजधानीकै सडकमा यस्तो घटना हुँदा पनि प्रशासन संयन्त्र निरीह भएको हो कि भन्ने लागेको बताए ।‘राजधानीमै यस्ता घटना भए । बालकको दुर्घटनामा मृत्यू भएको भनिएपनि यसको आन्तर्य के हो बुझ्न सकिएको छैन । यदि दुर्घटना नै हो भनेपनि कम्तिमा मोटरसाइकल चालकलाई किन प्रहरीले नियन्त्रण गर्न नसकेको ? उनले प्रश्न गरे, ‘के बजारमा नारावाजी, तोडफोड, आन्दोलन, चक्काजाम र प्रदर्शन गरे मात्रै राज्यको आँखा खुल्ने हो ?

 प्रहरी भने आफूहरुले घटनामा सहभागि मोटरसाइकललाई निरन्तर खोजिरहेको बतायो ।‘हामीले ७ जनाको टिम नै बनाएर मोटरसाइकल चालकलाई खोजिरहेका छौं । उपत्यकामा भएका ९९ ओटा सिसिटिभी क्यामेरा मध्ये सात ओटा मात्रै सुचारु छन् । हामीले हरेक कोणबाट अनुसन्धान थालेका छौं तर हामीले अहिलेसम्म पत्ता लगाउन भने सकेका छैनौं ।

जिल्ला प्रहरी कार्यालय सिुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले भने, ‘सिसिटिभी मर्मत गर्न नगरपालिका देखि सबै स्थानमा हारगुहार गरेका थियौं । सुनुवाई भइदिएको भए घटना लगत्तै हामी उक्त चालकलाई सिसिटिभीको सहायतामा नियन्त्रणमा लिइसक्ने थियौं ।’उनले राज्य भनेको प्रहरी मात्रै हो भन्ने परेको भन्दै गुनासो गरे । ‘प्रहरी मात्रै राज्य होइन नि, राज्य भनेको त सबै निकाय हो ।’ उनले गुनासो गरे ।

तपाईको प्रतिक्रिया