पोखरा – कृषि यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन“ भन्ने मुलनाराका साथ पोखरामा आयोजना हुने प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी–२०८० को तयारी अन्तिम चरणमा पुगेको छ ।
गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय–मालेपाटन, पोखरा, पोखरा महानगरपालिका, पोखरा, कास्की, नेपाल सरकार, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र यस संघको संयुक्त आयोजनामा आगामी पुुस २० गतेदेखि २२ गतेसम्म, पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी–२०८० को तयारी बारे मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
सम्मेलनमा बोल्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले नेपालको विभिन्न क्षेत्रमा कृषि यान्त्रिकरण सम्बन्धि व्यवसाय गर्दै आएका व्यावसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रिकरणमा टेवा पुर्याउने उद्देश्यले यो प्रर्दशनी गर्न लागिएको जानकारी दिनुभयो ।
यन्त्रीकरण मार्फत व्यवसायीकरण गरी प्रतिस्पर्धी तथा आधुनिक कृषिलाई सँगै लैजान सकिने बताउँदै अध्यक्ष शर्माले यस प्रर्दशनीमा ४० लाख बराबरको खर्च लाग्ने बताउनुभयो ।
प्रर्दशनी निःशुल्क हुने जानकारी दिदै अध्यक्ष शर्माले अपेक्षित अवलोकनकर्ता ४० जिल्लाका करिव तीस हजार सहभागी हुने अनुमान संघले राखेको बताउनुभयो ।
प्रदर्शनीकर्ता करिव ६० भन्दा बढी हुने सो प्रर्दशनीमा १० भन्दा बढी मुलुकका एक हजार भन्दा बढी प्रकारका कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिहरु रहनेछन् ।
अनुमानित कारोबार ५ करोड भन्दा माथि हुने अपेक्षा आयोजकले राखेको सो प्रर्दशनीमा मेड इन नेपाल स्टल सँगै कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी÷सेमिनार, रैथाने बालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल÷अन्तकृया हुने आयोजकले जनाएको छ ।
एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुको बारे जानकारी गराउन यो प्रर्दशनी आयोजना फलदायी हुुने कृषि निर्देशक बासु रेग्मीले बताउनुभयो ।
यस प्रर्दशनीमा नीति निर्माता, पेशागत समुह, अनुसन्धानकर्ता, कृषक लगायतका सरोकारवालाहरुलाई कृषि यन्त्र तथा प्रविधि सम्बन्धी जानकारी सँगै कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुर्याउन पनि सहयोग पुग्ने उहाँको भनाई थियो ।
कृषि यान्त्रीकरण व्यवसायी र कृषक बीच कार्यगत समन्वय गरी लगानीको अवसर सृर्जना गर्न प्रर्दशनीले सहयोग गर्ने पोखरा महानगर कृषि शाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । उहाँले कृषि यन्त्र तथा प्रविधि सम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञ र कृषक बीच समन्वय र सहकार्यको वातावरण सृर्जना गर्नमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउविजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने भएको छ ।
कृषकहरुलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिहरुको बारेमा जानकारी गराउने उद्देश्य उद्देश्यले नेपाल सरकारको आयोजनामा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७० चितवन, दोस्रो राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी, २०७२ कोहलपुर बाँके, Nepal Agritech International Expo, 2017 भृकुटिमण्डप, काठमाडौ, तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६, चितवन, सलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८ सफलता पूर्वक सम्पन्न गरिसकेको जानकारी सम्मेलनमा गराइएको थियो ।
कृषि औजार, उपकरण, प्रबिधि उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलर, सब–डिलरहरु, सरकारी एवं गैह्र सरकारी संघ संस्थाहरु, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरु, अनुसन्धान संस्थाहरु, सेवा प्रदायक, कृषक, कृषक समूह, सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु लगायतको उपस्थिती रहने आयोजकले जनाएको छ ।
यस प्रर्दशनीको सहयोगी संस्थाहरुमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना, हरिहरभवन, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरिहरभवन, नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजना, हरिहरभवन, ललितपुर, राष्ट्रिय कृषि ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र, खुमलटार, ललितपुर, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, सलिका [SALICO], र पोखरा उद्योग बाणिज्य संघ रहेका छन् । गोल्ड स्पोन्सरमा एस.के.टी. नेपाल प्रा. ली, सिल्भर स्पोन्सरमा जि सेभेन एग्रिकल्चर प्रा. ली, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सर्भिलियन्स पार्टनरमा जोधनी ईलेक्ट्रो प्रा.लि, र हस्पिटालिटी पार्टनरमा मझेरी रिसोर्ट एण्ड स्पा लेकसाइड पोखरा रहेका छन् ।

समृद्धि कृषि । १७ पुष २०८०, मंगलवार १९:३७