एमालेको सुर्खेत अधिवेशन स् अध्यक्षमा अमृत र कुलमणि भिड्ने सम्भावना

सुर्खेत ८ चैत्र। नेकपा एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशन बिहीबार सुरु हुँदैछ । अधिवेशनको वीरेन्द्रनगरस्थित सिटी हलमा एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नेछन् ।

नयाँ नेतृत्व हात पार्न नेताहरुले गुटगत प्यानल बनाई प्रतिस्पर्धा गर्ने सम्भावना छ । जिल्लाका नेताहरु स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरख बोगटी–नवराज रावत समूहमा विभाजित भई प्यानल बनाउने तयारीमा छन् ।

कँडेल समूहबाट हालका सुर्खेत जिल्ला उपाध्यक्ष कुलमणि देवकोटा र कविन्द्र केसी अध्यक्षमा आकांक्षी छन् । बोगटी र रावतको समूहबाट हालका जिल्ला अध्यक्ष अमृतबहादुर बिसी र दण्डीप्रसाद शर्माले आकांक्षा राखेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट एमालेका फर्किएका मोहन बडुवालले पनि अध्यक्षको आकांक्षा राखेका छन् ।

आकांक्षीहरु धेरै भएपनि कँडेल समूहले देवकोटालाई र बोगटी–रावतको समूहले जिल्ला अध्यक्ष बिसीलाई नै उम्मेदवार बनाउने एमालेका एक नेताले बताए । ‘यहाँ प्रतिष्ठा र गुटको लडाइ छ । आकांक्षी जतिसुकै भएपनि मुख्य प्रतिस्पर्धा अहिलेकै अध्यक्ष र उपाध्यक्षबीच नै हुन्छ’, एमालेका एक जिल्ला नेताले भने ।आठौँ जिल्ला अधिवेशनमा गुट परिवर्तन गरी रावत समूहबाट कँडेल समूहमा गएर जिल्ला अध्यक्ष बनेका बिसी पुनः जिल्ला अध्यक्षमा दोहोरिन चाहन्छन् । तर कँडेल समूहले नवौं अधिवेशनमा देवकोटालाई अध्यक्षका लागि अघि सारेपछि बिसी चिढिएका थिए ।

त्यसैले उनले फागुनको ४, ५ र ६ गते हुने भनिएको जिल्ला अधिवेशन अध्यक्ष बिसीले १७ माघमा एक विज्ञप्ति जारी गर्दै एकलौटी रुपमा स्थगित गरेका थिए ।

उनले संगठनभित्रै सहयोग पाउन नसकेको, पार्टी सञ्चालनमा अनेक बाधा उत्पन्न भएको, संस्थागत गुटबन्दी झाँगिएको, स्थानीय कमिटीहरू संस्थागत रूपमा सञ्चालन हुन नसकेको जस्ता कारण देखाएर अधिवेशन स्थगित गरेका थिए ।विवादले अधिवेशन स्थगित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ माघमा नेताहरुलाई काठमाडौं बोलाएर तीन दिनसम्म छलफल गरेका थिए । त्यसपछि विवाद समाधान भई बिहीबार र शुक्रबारका लागि अधिवेशनको नयाँ मिति तोकिएको थियो ।

प्रदेश राजधानी समेत रहेको जिल्ला भएकाले सुर्खेतको अधिवेशनलाई चासोका साथ हेरिएको छ ।

त्यस्तै सचिवमा घनश्याम पाण्डे, गंगाराम तिमिल्सिना, पूर्णप्रसाद पौडेल, हरिप्रसाद अधिकारी, ताराकेशर गौतम र टेकेन्द्र बस्नेत लगायतका नेताले आकांक्षा देखाएका छन् । अधिवेशनका लागि ९ वटा स्थानीय तह र पार्टीका विभिन्न जनवर्गीय संगठनबाट गरेर करिब ४९५ जना प्रतिनिधि छनौट भएका छन् ।अनलाइन खबर

तपाईको प्रतिक्रिया