जुम्ला — जुम्लास्थित बागवानी अनुसन्धान केन्द्र राजिकोटले राष्ट्रिय बिउ बिजन तथा गुण नियन्त्रण केन्द्र हरिहरभवन ललितपुरमा दुई जातको स्याउ सिफारिस अनुमतिका लागि अनुरोध गरेको छ ।
जुम्लाको हावापानी र भूगोल सुहाउँदो टपर रेड र रेड स्पर जातको स्याउ सिफारिसको तयारी गरिएको वैज्ञानिक राजकुमार गिरीले जानकारी दिए । उनले भने, ‘अहिले परीक्षण गरेर सफल देखिए पनि सिफारिसका लागि पठाएका छौं ।
अनुमति पाउनेबित्तिकै किसानको घरदैलोसम्म बिरुवा पुर्याउनेछौं ।’बागवानी अनुसन्धान केन्द्रले यसअघि स्टार्क क्रिप्सन डेलिसियस,बाइज्ड एन अर्ली र स्टार्क स्पर गोल्ड जातको स्याउ सिफारिस गरेको थियो । तिनले अहिले किसानको बगैंचामा हुर्केर फल दिइसकेका छन् ।
बोट होचो हुने यी जातका स्याउले रोपेको दुईदेखि तीन वर्षमै फल दिन थाल्छन् । फल सानो छँदा नै रङको विकास हुने, बोक्रा बाक्लो हुने भएकोले ढुवानीमा क्षति कम हुने र लामो समय भण्डारण गर्न सकिने जस्ता गुण यी स्याउमा छन् ।
वैज्ञानिक गिरीका अनुसार एक हेक्टर क्षेत्रफल जमिनमा ४ सय बिरुवा रोप्न सकिनेछ । ‘बोट होचो हुने भएकोले बगैंचा व्यवस्थापनमा निकै सहज हुन्छ । किसानले सहजै रुपमा स्याउका दाना टिप्न सक्छन्,’ उनले भने ।
बागवानी अनुसन्धान केन्द्रले ओखरमा कलमी प्रविधिको समेत विकास गरेको छ । पहिलोपटक सफल दर ४० प्रतिशत थियो । अहिले ७२ प्रतिशत पुगेको छ वैज्ञानिक गिरीले बताए । अहिले यो प्रविधिको प्रयोग गरेर किसानले मनग्गे आम्दानी गरिरहेका छन । अहिले सस्तोमा ओखरको कलमी बिरुवा राजिकोटले उपलब्ध गरिरहेको छ ।
ुपहिले प्रतिबिरुवा १ हजार एक सय रुपैयाँ थियो,ु वैज्ञानिक गिरीले भने, ‘अहिले यो प्रविधिको विकास भइसकेपछि ५ सय रुपैयाँ जिल्ला दररेट तोकिएको छ ।’ उसो त अहिले सामान्य किसानले पनि आफैले कलमी गरेर बिरुवा रोपिरहेका छन् ।
समृद्धि कृषि । २१ असार २०८२, शनिबार २१:००