सुर्खेत – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र हुम्ला जिल्ला उत्तर दक्षिण त्रिदेशीय ९नेपाल–भारत–चीन० सडक सञ्जालसँग जोडिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने खार्पुनाथ गाउँपालिकास्थित चुवाखोलामा निर्माण सम्पन्न बेलीब्रिज उद्घाटन गरेसँगै कर्णालीमा त्रिदेशीय सडक सञ्जाल विस्तार भएको हो ।
यो पुल उद्घाटन भएसँगै नेपालका ७७ वटै जिल्लामा राष्ट्रिय राजमार्ग विस्तार भएका छन् । मोटरेबल पुल निर्माणमा ठेकेदारले लापर्वाही गरेपछि तत्काल सिमकोटलाई सडक सञ्जालसँग जोड्न सरकारले नेपाली सेनालाई बेलीब्रिज निर्माणको जिम्मा दिएको थियो । सेनाले ३५ दिनमा आफ्नो जिम्मेवारी पूरा गरेपछि हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा आबद्ध गर्ने दशकौँअघिको प्रयास सफल भएको हो ।
हुम्लामा सडक पुर्याउन कर्णाली कोरिडोर नामकरण गरी झण्डै दुई दशकभन्दा बढीको निरन्तर प्रयासले अन्ततः मूर्त रूप लिएको छ । कर्णाली कोरिडोर सञ्चालनमा आएपछि दक्षिणी छिमेकी मित्रराष्ट्र भारतको जमुनाह नाकादेखि उत्तरी छिमेकी चीनसँगको सीमावर्ती क्षेत्र हिल्सासँग ‘साउथ एन्ड नर्थ एक्सिस गोर्थ’ रो
डका रूपमा त्रिदेशीय मार्ग विस्तार हुनेछ । यो सडक लुम्बिनी प्रदेशको बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट प्रारम्भ भई हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सा पुगेर टुंगिन्छ ।
२६ वर्षअघि निर्माण सुरु भएको यो सडक प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरदेखि ४ सय १० किलोमिटर उत्तरमा दूरी तय गर्छ । कर्णाली कोरिडोरले लुम्बिनी प्रदेशका बाँके, कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाहुँदै हुम्लालाई जोड्छ ।
पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हुम्लालाई राष्ट्रिय सडक सञ्जालको पहुँचमा ल्याउन सरकारले थालेको प्रयासले सार्थकता पाएको बताए । उनले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा एलसीसहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिबद्धतासमेत जनाए । हुम्लाको अर्थतन्त्र सुधार गर्न उत्तरी छिमेकी चीनसँग व्यापार सम्झौता गरी हिल्सामा सुविधासम्पन्न क्वारेन्टाइन तत्काल स्थापना गर्ने ओलीले दाबी गरे ।
‘कर्णाली कोरिडोरमार्फत हुम्लालाई सडक सञ्जालसँग जोडिएको छ,’ ओलीले भने, ‘यो सडकले हाम्रा दुवै छिमकीलाई जोड्छ । कठिन परिस्थतिका बाबजुद सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । अब सरकार कर्णाली कोरिडोर स्तरोन्नतिको कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्छ ।

समृद्धि कृषि । २२ असार २०८२, आईतवार २०:५०