नेपालमै अर्ग्यानिक मल उत्पादन गर्नुपर्छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर मलको अभावले किसानहरू संकटमा परेको भन्दै अब दीर्घकालीन समाधानका लागि नेपालमै अर्ग्यानिक मल उत्पादन सुरु गर्नुपर्ने धारणा राखेका छन्।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै देउवाले हाल मलको आपूर्तिमा देखिएको समस्या केवल अहिलेको होइन, प्रणालीगत कमजोरी भएको स्पष्ट पारे। उनका अनुसार, “भारतले समेत विदेशबाट मल आयात गर्छ भने हामीले कहाँबाट ल्याउने ? भारतकै भरमा बसिरहँदा हामी मल अभावको चक्रबाट कहिल्यै ननिक्लिन सक्छौं।”

उनले रासायनिक मल महँगो पर्ने, समयमा नपाइने र विदेशी आयातमा निर्भर हुनुपर्ने समस्यालाई उठाउँदै, अब मुलुकले वैकल्पिक उपायको खोजी गर्नुपर्ने बेला आएको बताए। “कृषकहरू मल नपाएर हरेक वर्ष पीडित छन्,” देउवाले भने, “अब नेपालमै अर्ग्यानिक मल उत्पादन गर्नुपर्छ, यसले उत्पादन पनि बढ्छ, माटो पनि स्वस्थ हुन्छ, र हामी आत्मनिर्भर बन्छौं।”

देउवाले कृषि उत्पादनलाई अर्ग्यानिक प्रविधितर्फ मोड्ने हो भने नेपालको आर्थिक सुदृढीकरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। साथै, विदेशमा आश्रित हुने प्रवृत्तिलाई अन्त्य गर्दै आन्तरिक उत्पादनमा जोड दिनुपर्नेमा उनले विशेष जोड दिए।

तपाईको प्रतिक्रिया