सुर्खेत- सामाजिक सञ्जालको प्रयोगमार्फत ‘नक्कली बिहे’ गराई धन लुट्ने गिरोहको पर्दाफास भएको छ। सुर्खेत प्रहरीले यस्तो धन्दामा संलग्न दुई जनालाई पक्राउ गरेको छ भने एक मुख्य पात्र — दुलही बनेकी महिला अझै फरार छिन्।
पक्राउ पर्नेमा दैलेख साँडु घर भई हाल वीरेन्द्रनगर–१० बसोबास गर्दै आएका ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाँद–३ घर भई सोही ठाउँमा बस्दै आएकी ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन्। यी दुईले आफूलाई नक्कली आमाबाबु भनेर चिनाउँदै एउटै महिलालाई पटक–पटक विभिन्न पुरुषसँग बिहे गराइ ठगी गर्दै आएको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार, विक र मगरले फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिटिक्क परेको पारिवारिक छवि निर्माण गर्दै ‘बिहे गर्न चाहने’ व्यक्तिहरूलाई झुक्याउने गरेको खुलेको छ। “उनीहरूले एउटै महिलालाई फरक–फरक व्यक्तिसँग विवाह गराई नगद र गरगहना उठाउँथे,” डीएसपी बुढथापाले भने, “अहिलेसम्मको अनुसन्धानमा उनीहरूको उद्देश्य शुद्ध रूपमा आर्थिक लाभ लिनु रहेको देखिन्छ।”

समृद्धि कृषि । १९ भाद्र २०८२, बिहीबार २०:०३