बाजुरा – बाजुराका स्याउ बारीमा राताम्य भएर पाकेका छन्, तर ती स्याउ बजार पुग्न नपाउँदै कुहिने जोखिममा छन्। कारण — असारदेखि नै अबरुद्ध रहेको मार्तडी–कोल्टी सडक अझै खुल्न सकेको छैन।
बुढीनन्दा नगरपालिका–५ का किसान मानबहादुर रावत भन्छन्, “भदौको सुरुदेखि अन्त्यसम्म स्याउ टिप्ने मुख्य समय हो। तर यसपालि सडक अबरुद्ध हुँदा हामीले टिपेका स्याउ बारीमै थन्किन थालेका छन्।”
स्याउ उत्पादनमा पछिल्लो समय व्यावसायिकता बढ्दै गएको छ। स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा जस्ता पालिकाहरूमा किसानहरूले गोल्डेन गाभा, डेलिसियस, फुजी गाला लगायतका उन्नत जातका स्याउ लगाएका छन्। तर उत्पादन बृद्धिसँगै यातायात सहज नहुँदा आम्दानीको अपेक्षा निराशामा परिणत हुँदैछ।
गत वर्ष कृषि ज्ञान केन्द्र बाजुराले खच्चडमार्फत ढुवानी गर्न अनुदान उपलब्ध गराएको थियो। तर यस वर्ष त्यो सहायता रोकिएको छ। “खच्चडका लागि पनि स्रोत जुटाउन नसकिएको हो,” केन्द्रका एक अधिकारीले भने, “त्यसैले किसानलाई यो वर्ष सहयोग गर्न सकेनौं।”
यसपालि जिल्लामा करिब १७० हेक्टर क्षेत्रमा स्याउ खेती भएको छ। गत वर्ष करिब १,०२० मेट्रिक टन स्याउ उत्पादन भएको तथ्यांक छ।
मार्तडी–कोल्टी सडक खण्ड खोल्न डोजर परिचालन गरिएको भए पनि अविरल वर्षाका कारण काम अघि बढ्न सकेको छैन। भौतिक पूर्वाधार विकास कार्यालय अछामका अनुसार वर्षा नरोकिँदासम्म डोजर चलाउन जोखिमपूर्ण हुने भएकाले काम थाल्न नसकिएको हो।
स्याउजस्तो उच्च मूल्यको बाली उत्पादन गर्ने किसानहरू बजार पहुँच नहुँदा घाटामा जानुपर्ने स्थिति सिर्जना भएको छ। कृषिमा लगानी बढे पनि यातायातजस्ता पूर्वाधार कमजोर हुँदा उत्पादन लाभदायक बन्न सकिरहेको छैन।

समृद्धि कृषि । १९ भाद्र २०८२, बिहीबार २०:१८