काठमाडौं – पछिल्लो समय देशभर चर्किएको जेनजी आन्दोलन हिंसात्मक बन्दा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन्।
एक मन्त्रीका अनुसार, लेखकले जेनजी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्। सोमबार मात्र भएको प्रदर्शन अत्यन्तै उग्र बनेको थियो, जसमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा अहिलेसम्म १९ जनाको ज्यान गइसकेको छ।
लेखकले मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाउनु अघि पार्टी बैठकमा पनि आफूले अब गृहमन्त्री पदमा रहन उचित नदेखिएको स्पष्ट पारेका थिए। उनले भनेका थिए, “यस्तो संवेदनशील समयमा जनताको ज्यान गुम्दा म चुप लागेर बस्न सक्दिन। म यो घटनाको नैतिक जिम्मेवारी लिन्छु।”
जेनजी आन्दोलनको नेतृत्व गरिरहेका समूहले पछिल्लो केही हप्तादेखि विभिन्न मागसहित आन्दोलन चर्काइरहेका थिए। तर सोमबारको प्रदर्शन हिंसात्मक बन्दा स्थिति नियन्त्रण बाहिर गएको थियो। राजधानी काठमाडौं लगायतका थुप्रै शहरहरूमा तोडफोड, आगजनी र झडपका दृश्य देखिएका थिए।
सरकारले शान्तिपूर्ण वार्ताको प्रयास गरे पनि आन्दोलनकारी र सरकारबीच सहमति जुट्न सकेको थिएन। यस्तै परिस्थितिमा लेखकको राजीनामा आएको हो।
सरकारको तर्फबाट हालसम्म घटनाबारे विस्तृत छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने जनाइएको छ। त्यस्तै, प्रधानमन्त्री ओलीले पनि मन्त्रिपरिषद् बैठकमा घटनाको गम्भीर समीक्षा गर्दै आवश्यक कदम चालिने बताएका छन्।
अब लेखकको राजीनामापछि नयाँ गृहमन्त्री को नियुक्त हुने भन्ने चासो बढेको छ। सत्ता गठबन्धनभित्र उक्त पदका लागि विभिन्न नामहरू चर्चामा आइरहेका छन्।

समृद्धि कृषि । २३ भाद्र २०८२, सोमबार २०:१९