काठमाडौं -आइतबारको आन्दोलनमा भएको दमन, हत्या र अत्यधिक बल प्रयोगप्रति गहिरो क्षमायाचना गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आज मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सरकारको उक्त कार्यशैलीलाई तानाशाही प्रवृत्तिको संकेत भएको भन्दै आपत्ति जनाएका छन्।
मन्त्री अधिकारीले सार्वजनिक रूपमा जारी गरेको राजीनामा वक्तव्यमा उनले लोकतान्त्रिक मूल्य र मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन्।
“लोकतन्त्र होइन, तानाशाहीतर्फ उन्मुख हुँदैछ देश”राजीनामा पत्रमा मन्त्री अधिकारीले लेखेका छन्:“लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। तर यसको बदला भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानाशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भन्ने प्रश्न उठेको छ।”
उनले आन्दोलनमा संलग्न सामान्य नागरिक, युवा र बालबालिकामाथि राज्यले देखाएको कठोरताप्रति गहिरो चिन्ता र पीडा व्यक्त गरेका छन्।“देश निर्माणमा सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरो लागि सह्य भएन,” अधिकारीले उल्लेख गरेका छन्।
मन्त्री अधिकारीका अनुसार आइतबारको घटनापछि आफूभित्र गहिरो अपराधबोध पैदा भएको थियो। स-साना बालबालिकामाथि भएको अत्याचारले उनलाई नैतिक रूपमा कच्याककुच्याक बनाएको र सरकारमा रहिरहनु आफ्नो राजनीतिक शिक्षाको अपमान हुने उनले बताएका छन्।
“देशलाई नै शोकाकूल बनाउने यस्ता घटनापछि सरकारमा बसिरहनु मेरो नैतिकता, मूल्य र ब्रम्ह चेतको विरुद्ध हुने हुँदा, देश र जनतासमक्ष क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा दिएको छु,” मन्त्री अधिकारीको भनाइ छ।
अधिकारीको राजीनामापछि हालसम्म प्रधानमन्त्री वा सत्तारूढ दलबाट औपचारिक प्रतिक्रिया आएको छैन। तर विश्लेषकहरू भन्छन्, मन्त्री अधिकारीको राजीनामाले सरकारभित्रको अन्तर्विरोध, लोकतान्त्रिक संवेदनशीलताको अभाव, र नीति–निर्णयमा आन्तरिक असहमति झल्काउँछ।
सार्वजनिक रूपमा मन्त्री अधिकारीजस्तो उच्चपदस्थ व्यक्तिले स्पष्ट शब्दमा सरकारको कदमको विरोध गर्दै राजीनामा दिनु, दलीय अनुशासन र सत्ता–नैतिकताको सन्तुलनमाथि प्रश्न खडा भएको संकेत मानिएको छ।

समृद्धि कृषि । २४ भाद्र २०८२, मंगलवार ११:०५