नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी

काठमाडौं । देशभर विभिन्न ठाउँमा भइरहेको अराजक गतिविधि र हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिन नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ। सेनाले जारी गरेको विज्ञप्ति अनुसार, आन्दोलनको नाममा विभिन्न अराजक व्यक्ति तथा समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट जस्ता आपराधिक गतिविधि गरिरहेका छन्।

सेनाले जनाएअनुसार, देशका विभिन्न भागमा व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास तथा अन्य आपराधिक गतिविधिहरू भइरहेका तथा यस्ता घटनाहरू थप हुन सक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु आदेश लागू गरिएको हो।

आज साँझ ५ बजेसम्मको लागि कर्फ्यु, भोलि बिहान ६ बजेसम्म निरन्तर जारी रहने ,सेनाले हाललाई आज साँझ ५ बजेसम्म कर्फ्यु लागू गरिएको जानकारी दिएको छ। तर परिस्थितिको गम्भीरता हेरेर यो आदेश आज साँझ ५ बजेपछि पनि जारी रहने तथा त्यसपछि भोलि बिहीबार बिहान ६ बजेसम्म निरन्तर लागू हुने उल्लेख गरिएको छ।

नेपाली सेनाले भनेको छ कि, स्थिति र घटनाक्रमको विश्लेषण गर्दै कर्फ्यु अवधि लम्ब्याउने वा अन्य सुरक्षा उपायहरू अपनाउने निर्णय गरिनेछ। सेनाले नागरिकहरुलाई सुरक्षाका लागि सरकारी आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै कर्फ्यु अवधिभर घरमै बस्न, अनावश्यक हिँडडुल नगर्न र सुरक्षाकर्मीको निर्देशनको पालन गर्न अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया