भोजपुर – कोशी प्रदेश सरकारले गत आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको कृषि कर्जा ब्याज अनुदान कार्यक्रम अपेक्षित प्रभाव पार्न नसकेको देखिएको छ । प्रक्रियागत झन्झटका कारण किसानको सहभागिता न्यून हुँदा यो कार्यक्रम प्रभावहीन बन्न पुगेको हो ।
अहिलेसम्म भोजपुरमा उक्त कार्यक्रममार्फत कर्जा लिने किसानको सङ्ख्या शून्यप्रायः छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार हालसम्म जम्मा एक जना किसानले मात्र ब्याज अनुदानमा आधारित कृषि कर्जा लिएका छन् । सात जना किसानले आवेदन दिए पनि बाँकी छ जना प्रक्रियामै रोकिएका छन् ।
सूचना अधिकारी घनश्याम बरालका अनुसार, किसानका व्यावसायिक योजना र धितोको आधारमा न्यूनतम रु १० लाखदेखि अधिकतम रु ३ करोडसम्म कर्जा उपलब्ध गराउने व्यवस्था छ । ब्याजमा अनुदान दिने यो योजनाका लागि भोजपुरमा सात वटा बैंकका नौ वटा शाखा सूचीबद्ध छन् ।
तर स्थानीय किसान नरबहादुर बस्नेतका अनुसार बैंकको प्रक्रिया अत्यन्तै झन्झटिलो भएकाले किसानले कर्जा लिन सहज नभएको गुनासो छ । “धितो मूल्याङ्कनमै समस्या हुन्छ,” उहाँले भन्नुभयो, “योजना राम्रो छ, तर हामी जस्ता साना किसानका लागि पहुँचभन्दा बाहिरको कुरा हो ।”
कृषिमा लगानी बढाउने सरकारको उद्देश्य यस्ता कार्यक्रमबाट साकार होस् भन्ने अपेक्षा गरिए पनि कार्यान्वयनमा देखिएको कमजोरीले वास्तविक लाभग्राहीसमक्ष योजना पुग्न सकेको छैन । किसानमैत्री नीति तर्जुमा मात्र नभई व्यवहारमै सहजता ल्याउन सकिएमा मात्र यस्तो कार्यक्रमको प्रभावकारिता देखिने जानकारको धारणा छ ।

समृद्धि कृषि । २५ भाद्र २०८२, बुधबार १६:४४