जेनजी पुस्ताको भावना अनुरूप संविधानिक बाटोबाटै समाधान खोज्नुपर्छ

काठमाडौँ – नेपाली कांग्रेसले अहिलेको राजनीतिक संकट समाधान गर्न संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत अगाडि बढ्नुपर्नेमा जोड दिएको छ। कांग्रेसले जेनजी पुस्ताको भावना बमोजिम देशले नयाँ यात्रा तय गर्नुपर्ने बताउँदै सबै पक्षलाई संयमता, संवाद र एकताको आवश्यक सन्देश दिएको छ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा जारी संयुक्त विज्ञप्तिमा हालको संवैधानिक जटिलता समाधान गर्न राष्ट्रपतिद्वारा चालिएको पहलको स्वागत गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यो पहललाई जेनजी पुस्ताको भावना अनुरूप नै निष्कर्षमा पुर्‍याउन आग्रह गर्दछौं। आवश्यकताको सिद्धान्त अनुसार हुने कुनै पनि निर्णय संविधानको चौघेराभित्रै रहनुपर्छ।”

कांग्रेसले चेतावनी दिंदै भनेको छ कि “विधिविहीनता” को बाटोले मुलुकलाई अराजकतामा धकेल्न सक्छ। त्यसैले राष्ट्रपतिसहित सबै पक्षहरूलाई लोकतान्त्रिक र वैधानिक प्रक्रिया अवलम्बन गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा देश सञ्चालन तथा निर्वाचन सुनिश्चित गर्न नयाँ राजनीतिक संरचना निर्माण गर्दा संवैधानिक रिक्तता वा शून्यता नआओस् भन्नेमा कांग्रेसले विशेष ध्यान दिन आग्रह गरेको छ। “संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस्,” कांग्रेसले भनेको छ, “त्यस्तो पहलमा हाम्रो समर्थन रहनेछ।”

कांग्रेसले प्रधानमन्त्रीलाई सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न गरिएको सार्वजनिक दबाबलाई समयमै सम्बोधन नगर्दा स्थिति थप चर्किएको टिप्पणी गरेको छ। कांग्रेसले यो विषयमा प्रधानमन्त्रीको ढिलासुस्तीले परिस्थितिलाई नियन्त्रणभन्दा बाहिर पुर्‍याएको यथार्थ स्वीकार गर्नुपर्ने बताएको छ।

विभिन्न सरकारी कार्यालय, मिडिया हाउस र व्यवसायिक प्रतिष्ठानमा भएको आगजनीप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै ती कार्यहरू जेनजी आन्दोलनको घोषणाभन्दा बाहिरका उग्र तत्वहरूको नियोजित काम भएको ठहर गरेको छ।

अन्त्यमा कांग्रेसले देशलाई विषम परिस्थितिबाट निकाल्न संयमित व्यवहार, सबैपक्षीय संवाद र राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया