काठमाडौं – जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले नेपाली सेनाको पहलमा दुर्गा प्रसाईं र रास्वपाको सहभागितामा तय गरिएको वार्ताबाट आफूहरू बाहिरिएको खुलासा गरेकी छन्।
सामाजिक सञ्जालमार्फत बमले जनाइन् कि आफूहरू राष्ट्रपतिको निम्तोमा जान लागेको वार्ता अचानक दुर्गा प्रसाईं र रास्वपा समूहसँगको ‘संयुक्त वार्ता’मा परिणत भएपछि, त्यो प्रस्तावलाई अस्वीकार गर्दै वार्ता स्थल छाड्नुपरेको हो।
“राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरु पनि स्टेकहोल्डर हुन् भनेर स्वयं प्रधानसेनापतिले भनिसकेपछि, जेनजी आन्दोलनको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्विकार गर्दै बाहिरियौं,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
बमका अनुसार उनीहरू नेपाली सेनाको प्रधान कार्यालयमा सेनापति अशोकराज सिग्देलसँग वार्ताका लागि होइन, राष्ट्रपतिसँग भेट गर्न गएका थिए। तर, पूर्वतयारीबिना, बिना सुसूचित सहमति अन्य समूहसहितको वार्ता थोपरेपछि आफूहरू पछि हट्न बाध्य भएको उनको भनाइ छ।
उनले अर्को स्टाटसमार्फत जनाइन् कि जेनजी आन्दोलनमा संलग्न ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरू अब संयुक्त रुपमा एउटै मागपत्र तयार पार्ने तयारीमा छन्।
“हामी सबै एकैठाउँमा भेला भएर साझा दस्तावेजमा काम गर्नेछौं, सबै प्रतिनिधिहरूसँग समन्वय गर्नेछौं, र केही दिनभित्र राष्ट्रपति र सेनापतिसमक्ष मागहरू पेस गर्नेछौं,” उनले उल्लेख गरेकी छन्।
प्रमुख सेनापति अशोकराज सिग्देल, व्यवसायी दुर्गा प्रसाईं र रास्वपाबीच अहिले पनि वार्ता जारी रहेको समाचार बाहिर आएको छ। यता, सेनाको भूमिकामाथि भने आन्दोलनकारी पक्षबाट गम्भीर प्रश्न उठाइएको छ।
रक्षा बमले दुर्गा प्रसाईं वा रास्वपा कुनै पनि आधिकारिक जेनजी आन्दोलनको प्रतिनिधि नभएको उल्लेख गर्दै आन्दोलनको आत्मा बेचिन नसक्ने स्पष्ट सन्देश दिएकी छन्।

समृद्धि कृषि । २५ भाद्र २०८२, बुधबार १७:२३