जेनजी आन्दोलन : ६३३ घाइते २५ जनाको मृत्यु

काठमाडौँ – जेनजी आन्दोलनको क्रममा हालसम्म देशभर ६३३ जना घाइते भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। तीमध्ये २५ जनाको ज्यान गइसकेको छ भने १९६ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्।

मन्त्रालयका अनुसार ३८७ जना घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ५० जनालाई थप उपचारका लागि अन्य अस्पतालमा सारिएको छ। आन्दोलन चर्किएसँगै काठमाडौं उपत्यकाका प्रमुख अस्पतालहरूमा बिरामीको चाप बढेको छ।

दुई दिनअघि राजधानीका बानेश्वर क्षेत्रमा भएको प्रदर्शनपछि सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको चाप अत्यधिक बढेको थियो। यसले गर्दा नियमित स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्।

राष्ट्रिय ट्रामा सेन्टरका निर्देशक डा. बद्री रिजालका अनुसार, अहिले ६७ जना प्रदर्शनकारी घाइते सेन्टरमा उपचाररत छन्। मंगलबारको घटनामा मात्र ४० जना घाइते भएका थिए, जसमा सात जनाको अवस्था गम्भीर छ। तीमध्ये केहीको सघन उपचार कक्ष (ICU) मा उपचार भइरहेको छ।

सोमबारको प्रदर्शनमा घाइते भएका २७ जनाको उपचार पनि ट्रामा सेन्टरमै भइरहेको छ। सोही दिन त्यहाँ आठ जनाको मृत्यु भएको थियो। डा. रिजालले उपचार व्यवस्थापनका लागि ड्युटीमा रहेका जनशक्ति दोब्बर पारिएको जानकारी दिए।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार हालसम्म ३३ जना घाइतेको उपचार गरिएको छ। तीमध्ये ६ देखि ७ जनाको सफल सर्जरी भइसकेको छ। यद्यपि, ओपीडीमा बिरामीहरूको संख्या घटेको उनले बताए। “हिजोदेखि ओपीडीमा कम बिरामी आएका छन्, सम्भवतः आवागमन असहज भएर होला,” उनले भने

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार हालसम्म ४४ जना घाइते अस्पतालमा उपचाररत छन्। तीमध्ये एकजनाको आईसीयूमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया