काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हाल देशमा विकसित जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमप्रति गम्भीर ध्यान दिँदै सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक र आम नागरिकलाई संयमता र धैर्य अपनाउन आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत पोखरेलले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय र विधिको शासनप्रति अविचलित रहन आग्रह गरेका छन्।
पोखरेलले लेखेका छन्, “यस विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन, समाजमा शान्ति, अमनचयन र सामाजिक सद्भावका लागि सबैको पहल र प्रयत्न आवश्यक छ।” उनले थप लेखेका छन्, “विगतबाट शिक्षा लिंदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा हामी सबै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो।”
वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, त्यसबाट भएको जनधनको क्षति, सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड तथा हिंसात्मक गतिविधिप्रति गहिरो दुःख र भर्त्सना व्यक्त गरेका छन्।
उनको भनाइ छ, “यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गरिनुपर्छ। साथै, भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिने वातावरण सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो।”
पोखरेलले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, उनीहरूको उपचारका लागि सरकारले घोषणा गरेका कदमको प्रभावकारी कार्यान्वयन हुनु आवश्यक रहेको बताएका छन्।
पोखरेलले जेनजी पुस्ताका युवाहरूले उठाएका भ्रष्टाचारविरोधी आवाज र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको आन्दोलनप्रति पनि गम्भीर ध्यान दिनुपर्ने संकेत गरेका छन्। तथापि, उनले यस आन्दोलनमा भएको हिंसात्मक गतिविधिको स्पष्ट विरोध जनाएका छन्।

समृद्धि कृषि । २५ भाद्र २०८२, बुधबार १७:४५