काठमाडौं-नेकपा (एमाले)ले देशमा हाल उत्पन्न राजनीतिक संकटको समाधान संविधान र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा जोड दिएको छ। पार्टीले राष्ट्रपति समक्ष सार्थक र परिणाममुखी संवादको थालनी गरी जेन–जेड पुस्ताले उठाएका मागहरू संवैधानिक ढंगले सम्बोधन गर्न आग्रह गरेको छ।
एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न अस्थिरता समाधानका लागि लोकतान्त्रिक प्रक्रियालाई आधार बनाउनुपर्ने धारणा व्यक्त गरिएको छ।
“सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकांक्षा सहितका युवा पुस्ताका मागलाई संविधानसम्मत रूपमा सम्बोधन गर्न राष्ट्रपतिज्यूको पहल आवश्यक छ,” वक्तव्यमा भनिएको छ।
एमालेले आन्दोलनको क्रममा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ।
पार्टीले आन्दोलनपछिका दिनहरूमा देशभरि फैलिएको आगजनी, तोडफोड, लुटपाटजस्ता अराजक गतिविधिहरू गम्भीर र निन्दनीय भएको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि नेपाली सेना सहित सबै सुरक्षा निकायलाई सक्रिय रूपमा परिचालन गर्न आग्रह गरेको छ।
“असामान्य स्थितिको फाइदा उठाउँदै भइरहेको हिंसा र तोडफोडले मुलुक स्तब्ध बनेको छ। जनताको जिउधनको सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चालिनुपर्छ,” महासचिव पोखरेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ।
एमालेका अनुसार संघीय संसद, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालय लगायत दर्जनौँ सरकारी संरचनाहरू ध्वस्त भएका छन्। अभिलेख जलेका छन् भने कैयौँ निजी सम्पत्तिमा अर्बौंको क्षति पुगेको छ। जेलबाट हजारौँ कैदीबन्दी भागेको घटनाले थप सुरक्षा चुनौती खडा गरेको उल्लेख गरिएको छ।
महासचिव पोखरेलले पार्टी पंक्तिलाई विचलित नहुन, एकताबद्ध भएर संकटको सामना गर्न र जनताको पीर–मर्कामा साथ दिन आग्रह गरेका छन्। एमालेले विगतमा पनि निरङ्कुश शासन, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेष र विविध विपत्तिहरूलाई पार गर्दै आएको स्मरण गराउँदै पार्टीलाई वर्तमान संकटमा पनि अग्रसर हुन निर्देशन दिइएको छ।
“यो अवस्था स्थायी होइन, बदलिनेछ। संकटको बेला पार्टी कार्यकर्ताहरू जनसम्पर्कमा रहनु, समस्याको सामूहिक समाधान खोज्न योगदान पुर्याउनु आवश्यक छ,” महासचिव पोखरेलको भनाइ छ।
एमालेले आन्दोलन आयोजकहरूले शान्तिपूर्ण प्रदर्शनको प्रतिबद्धता जनाए पनि त्यस विपरीत हिंसात्मक घटना कसरी भए भन्ने यथार्थ छानबिन गर्नुपर्ने र सुरक्षाकर्मीहरूको भूमिका पनि समीक्षा हुनुपर्ने बताएको छ।
वक्तव्यको निष्कर्षमा एमालेले राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलन गम्भीर चुनौतीमा परेको उल्लेख गर्दै संविधान र लोकतान्त्रिक प्रक्रियामार्फतै मुलुकलाई निकास दिन सकिने विश्वास व्यक्त गरेको छ।

समृद्धि कृषि । २५ भाद्र २०८२, बुधबार २०:०५