काठमाडौं – प्रेस चौतारी नेपालले जेनेरेसन जेड (जेन–जेड) आन्दोलनपछि मुलुकमा उत्पन्न असहज र अराजक परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पत्रकार तथा सञ्चारमाध्यमहरूमाथि लक्षित आक्रमणको तीव्र निन्दा गर्दै चौतारीले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि अडान लिनुपर्ने बेला आएको जनाएको छ।
प्रेस चौतारीका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा २३ जना निहत्था नागरिकको ज्यान गएको, प्रहरीले स्कूले पोशाकमा रहेका विद्यार्थीमाथि गोली प्रहार गरेको र सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक आगजनी, तोडफोड र लुटपाट भएको घटनाले चौतारी स्तब्ध भएको उल्लेख गरिएको छ।
“केही महिनाअघि सुरक्षाकर्मीमाथि गाडी चढाउँदा पनि गोली नचलाउने प्रहरी आज स्कुले पोशाकका विद्यार्थीमाथि गोली चलाउनु दुःखद र लज्जास्पद छ,” विज्ञप्तिमा भनिएको छ।
प्रेस चौतारीले प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न संकट समाधानका लागि संविधान र संसदको परिधिमा रहेर सरकार गठन तथा अन्य राजनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। नागरिक अधिकार, प्रेस स्वतन्त्रता र मानव अधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै शान्तिपूर्ण समाधान खोज्न सरकार र सरोकारवालासँग अपिल गरिएको छ।
विज्ञप्तिमा आन्दोलनको दौरानमा सञ्चारकर्मीमाथि भएको कुटपिट, सञ्चारमाध्यममाथि भएको तोडफोड, आगजनी तथा आतंकपूर्ण गतिविधिप्रति कडा शब्दमा भर्त्सना गरिएको छ। जनतालाई सुसूचित गराउन खटिएका पत्रकारहरूमाथि गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर आघातको रूपमा लिइएको छ।
विशेषगरी प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत र केन्द्रीय सदस्य सुमन ढुंगानालाई आन्दोलनको नाममा विभिन्न अराजक समूहबाट धम्की दिइएको घटनालाई प्रेस चौतारीले गम्भीर रुपमा लिएको जनाएको छ।
“लोकतन्त्रमा सबै नागरिकलाई विचार राख्ने अधिकार हुन्छ। पत्रकारलाई डर–धम्की देखाएर चुप पार्न खोज्नु लोकतान्त्रिक मूल्यमाथिको कुठाराघात हो,” चौतारीको विज्ञप्तिमा भनिएको छ।
प्रेस चौतारी नेपालले पत्रकार तथा सञ्चारकर्मीहरूको सुरक्षाको प्रत्याभूति गर्न, धम्की दिने व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न र जिम्मेवार निकायहरूबाट सुरक्षा सुनिश्चित गर्न राज्यसँग जोडदार माग गरेको छ।
साथै, आन्दोलनको क्रममा घाइते भएका पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको यथोचित व्यवस्था मिलाउन पनि सरकारसँग अनुरोध गरिएको छ।

समृद्धि कृषि । २५ भाद्र २०८२, बुधबार २०:३०