शिवपुरीबाट ओलीको भावुक सन्देश : “मेरो सन्तान भएनन्, तर जेनजी तिमीहरू मेरा नानीबाबु हौं”

काठमाडौं — नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्तालाई समर्पित भावुक सन्देश सार्वजनिक गरेका छन्। राजधानीको शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्रबाट जारी सन्देशमा उनले आफूलाई सधैं “बाबु बन्ने रहर बोकेको तर सन्तान नभएको व्यक्ति”को रूपमा चित्रित गर्दै, आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका युवाहरूलाई आफ्ना “छोराछोरी”को संज्ञा दिएका छन्।

“जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन्,” ओलीले भनेका छन्। उनले २०५१ सालमा गृहमन्त्री हुँदा आफ्ना कार्यकालमा राज्यको तर्फबाट एक थोपो गोली नचलेको स्मरण गर्दै आफू सधैं शान्तिपूर्ण राजनीतिको पक्षमा रहेको स्पष्ट पारेका छन

पूर्वप्रधानमन्त्री ओलीले हालैको आन्दोलनलाई जेनजीको भावनासँग खेल्ने, मासुम अनुहारहरूलाई ढाल बनाउने र गहिरो षड्यन्त्रका रूपमा चित्रित गरेका छन्। आन्दोलनको दोस्रो दिनदेखि सार्वजनिक सम्पत्ति जलाइएका, महत्त्वपूर्ण राज्य संरचनाहरू ध्वस्त पारिएका र जेलबाट कैदीहरू छुटाइएका घटनाहरूलाई “सामान्य जनआक्रोशको उपज मात्र नभई योजनाबद्ध हिंसा”को संज्ञा दिएका छन्।

“तिमीहरूको कोमल हातबाट त्यो विनाश सम्भव छैन,” भन्दै उनले आन्दोलनका नाममा भएको विध्वंस पछाडि संगठित शक्तिहरूको संलग्नता भएको संकेत गरे।

सन्देशमा ओलीले आफूलाई “जिद्दी स्वभाव”को व्यक्ति भनेका छन् र यही जिद्दीपनकै कारण लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको अडान लिन सकेको दाबी गरेका छन्। “शास्त्रअनुसार भगवान् श्रीराम नेपालमै जन्मिएका हुन् भन्ने कुरा मैले जिद्दी गरेरै बोलेको हुँ,” उनले उल्लेख गरेका छन्।

उनका अनुसार यदि उनले राष्ट्रिय हितका मुद्दामा जिद्दी नगरेका भए, अन्तर्राष्ट्रिय मञ्चमा लिम्पियाधुरा समेटिएको नक्सा नपठाएको भए, वा ‘अरूले चलाएजस्तो चलिदिएको भए’, आफूले धेरै अवसरहरू पाउने थिए।

“तर मैले आफूसँग भएको सम्पत्ति समेत राज्यको नाममा गरिदिएको छु,” भन्दै उनले पद, प्रतिष्ठा वा व्यक्तिगत लाभभन्दा पनि ‘व्यवस्थाको रक्षा’लाई आफ्नो जीवनको मुख्य ध्येय भनेका छन्।

ओलीले हालको व्यवस्था – जसले अभिव्यक्ति स्वतन्त्रता, हिँडडुल, आन्दोलन र विरोधको अधिकार दिएको छ – माथि सुनियोजित प्रहार भइरहेको बताएका छन्। उनले जेनजी पुस्तालाई संवेदनशील हुन आग्रह गर्दै भनेका छन्, “आज तिमीहरूले बोल्न पाएका छौ भने, आन्दोलन गर्न पाएका छौ भने, त्यो यही व्यवस्थाको देन हो। अब यो व्यवस्थाको कत्लेआम हुन नदिन तिमीहरू सशक्त ढंगले सचेत रहनुपर्छ।”

सन्देशको अन्त्यमा ओलीले पदको मोह नभएको प्रष्ट पार्दै भनेका छन्, “पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो।

पूर्वप्रधानमन्त्री ओलीको यो सन्देश भावनात्मक, राजनीतिक र दार्शनिक सबै कोणबाट एउटा महत्वपूर्ण दस्तावेज बन्न पुगेको छ, जहाँ उनले आफूलाई केवल एक राजनीतिक नेता होइन, एउटा पीडित बाबुको रूपमा प्रस्तुत गरेका छन्। “तिमीहरूका लागि म सधैं त्यही बा हुँ,” भन्ने ओलीको सन्देशले जेनजी पुस्तामाझ गहिरो सन्देश दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया