काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले देशमा उत्पन्न पछिल्लो राजनीतिक र सामाजिक अन्यौलता समाधानका लागि लोकतान्त्रिक विधि र प्रक्रिया नै एक मात्र मार्ग भएको स्पष्ट पारेको छ। आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हुने दाबी गर्दै, नागरिक अधिकारको सुरक्षा र सम्मानसहितको समावेशी संवादमार्फत निकास खोज्न जोड दिइएको छ।
“लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ। जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
आयोगले देश संकटपूर्ण अवस्थामा रहेको भन्दै त्यसलाई सामान्यीकरण गर्न राज्यका सबै निकाय र आमनागरिकको “सकारात्मक र सक्रिय भूमिका” अपरिहार्य रहेको उल्लेख गरेको छ। आयोगले सबै सम्बद्ध पक्षलाई “आफ्नो भूमिका जिम्मेवारपूर्वक निर्वाह गर्न” आग्रह गरेको छ।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन र त्यसपछिका हिंसात्मक घटनाप्रति आयोगले गहिरो चिन्ता व्यक्त गरेको छ। आगजनी, तोडफोड र हिंसात्मक गतिविधिबाट “देशको ठूलो जनधनको क्षति भएको दुखद अवस्था” रहेको उल्लेख गर्दै आयोगले यस्ता कार्य दोहोरिन नदिने प्रतिबद्धता सम्पूर्ण नागरिकमा देखिनु जरुरी रहेको बताएको छ।
“अब यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन हुन आयोग सबैमा आह्वान गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
आयोगले देशका विभिन्न सहरहरूमा आन्दोलनपछिको अवस्था निरन्तर अनुगमन गरिरहेको जनाएको छ। विशेषतः निषेधाज्ञा जारी भएको समयमा समग्र मानव अधिकारको स्थिति, मृतकका परिवारजन र घाइतेहरूको अवस्थाबारे बुझ्न टोली परिचालित गरिएको छ।
साथै, आयोगले पत्रकार, मानव अधिकारकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई निर्वाध रूपमा आफ्नो काम गर्न दिन सरकारसँग सहजीकरणको मागसमेत गरेको छ।
मानव अधिकार आयोगले जारी विज्ञप्तिको अन्त्यमा भनेको छ — “देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्दछ। सम्बन्धित सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक छ।”
आयोगले लोकतन्त्र, मानव अधिकार र शान्तिपूर्ण सहअस्तित्वको संरक्षणमा आफ्नो सक्रिय भूमिका निरन्तर जारी रहने बताउँदै सम्पूर्ण पक्षलाई संवेदनशील र उत्तरदायी बन्न आग्रह गरेको छ।

समृद्धि कृषि । २५ भाद्र २०८२, बुधबार २०:४९