मुस्ताङ – जिल्लामा उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादनमा यस वर्ष उल्लेख्य वृद्धि भएको छ। अहिले ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ भने स्याउ जिल्लाबाट बाहिर पठाउने कार्यसमेत तीव्र गतिमा भइरहेको छ।
जिल्लास्तरीय समन्वयात्मक बैठकले यसपटक ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ गतेदेखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान दिने निर्णय गरेको थियो। सोही अनुसार मुस्ताङका बगैँचाबाट स्याउ पोखरा, काठमाडौं लगायतका प्रमुख बजारमा पठाइएको छ।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यसवर्ष ‘हाइब्रिड’ स्याउको उत्पादन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ। कार्यालय प्रमुख राजेश गुरुङले दिएको जानकारी अनुसार, गत वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रबाट १ हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यस वर्ष त्यो भन्दा १२५ मेट्रिक टनले बढी स्याउ उत्पादन भएको प्रारम्भिक सर्वेक्षणमा देखिएको छ।
यता परम्परागत स्थानीय जातका स्याउको उत्पादन भने घट्ने देखिएको छ। कृषि ज्ञान केन्द्रको अनुमान अनुसार स्थानीय जातको स्याउमा यस वर्ष १५ प्रतिशतले गिरावट आउने सम्भावना छ।
गत वर्ष ८३० हेक्टर क्षेत्रफलमा लगाइएका स्थानीय स्याउबाट ६,०७८.८४ मेट्रिक टन उत्पादन भएको थियो। तर, यस वर्ष ९२ मेट्रिक टन कम हुने अनुमान गरिएको छ।
थासा–१ टुकुचेका कृषक दिपसागर थकालीका अनुसार थासाङ क्षेत्रमा यसवर्ष उत्पादन एक तिहाईले घटेको छ। “गत वर्ष बोटभरि स्याउ लटरम्म लागेको थियो, तर यसपटक निकै थोरै फलेको छ,” उनले भने।
तर सबै क्षेत्रमा उत्पादनमा कमी आएको छैन। घरपझोङ–५ स्थित चिम्ले अचार्ड कृषि स्याउ फार्ममा भने स्थानीय जातका स्याउ उत्पादनमा खासै असर नपरेको सञ्चालक कर्म गुरुङले जानकारी दिए। उनले बगैँचाको उचित व्यवस्थापन, भूगोल र स्थानको प्रभावले स्याउ उत्पादनमा फरक परेको बताए।
शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार स्याउको बोटमा फूल फुल्ने क्रममा वर्षा परेकाले धेरै ठाउँमा उत्पादनमा असर परेको हो। तथापि, जिल्लामा कति मात्रामा स्याउ उत्पादन भयो भन्ने पूर्ण तथ्यांक असोज महिनापछि मात्रै प्राप्त हुने उनले जानकारी दिए
कृषि ज्ञान केन्द्रका तथ्यांक अनुसार, गत वर्ष मुस्ताङमा ‘हाइब्रिड’ र स्थानीय जातका गरी जम्मा ६,०१६ हेक्टर क्षेत्रफलबाट ७,३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यसमध्ये १० प्रतिशत स्याउ जिल्ला भित्रै खपत भएको थियो भने बाँकी ९० प्रतिशत स्याउ पोखरा, काठमाडौं, चितवनलगायतका बजारमा पठाइएको थियो।
सयाउ निकासीबाट करिब रु ८२ करोड ६८ लाख कारोबार भएको थियो भने जिल्लाभित्रकै खपतमा रु ९ करोड १८ लाख ६७ हजार बराबरको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
मुस्ताङको मौसम, भौगोलिक अवस्था र कृषि प्रविधिको प्रयोगले स्याउ उत्पादनमा विविधता ल्याउँदै आएको छ। ‘हाइब्रिड’ स्याउको माग र उत्पादन दुबै बढिरहेको अवस्थामा आगामी वर्षहरूमा यस क्षेत्रलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने चुनौती रहेको सरोकारवालाहरूको भनाइ छ।

समृद्धि कृषि । २६ भाद्र २०८२, बिहीबार १०:२३