जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु, १०६१ घाइते

काठमाडौं – देशभर जारी जेनजी आन्दोलनको क्रममा भएको हिंसात्मक प्रदर्शनमा परी ३० जनाको ज्यान गएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने १,०६१ जना घाइते भएर विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरका २९ वटा अस्पतालमा ती बिरामीहरूको उपचार भइरहेको छ। मृतकहरूको विवरण यस प्रकार छ:

निजामती कर्मचारी अस्पताल ६ जना

राष्ट्रिय ट्रमा सेन्टर ८ जना

एभरेष्ट अस्पताल ३ जना

काठमाडौं मेडिकल कलेज, सिनामंगल २ जना

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल १ जना

फ्रन्टलाइन अस्पताल ३ जना

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान २ जना

भेरी अस्पताल ५ जना

सचिव देवकोटाका अनुसार अहिले २७४ जना घाइतेहरू विभिन्न अस्पतालमा भर्ना भई उपचाररत छन्।

त्यस्तै ५६ जनालाई एक अस्पतालबाट अर्कोमा रिफर गरिएको छ भने ७१९ जना उपचारपछि घर फर्किसकेका छन्।

अहिले उपचाररत घाइतेहरू:

निजामती कर्मचारी अस्पताल ४८ जना

राष्ट्रिय ट्रमा सेन्टर ५८ जना

वीर अस्पताल २० जना

त्रिवि शिक्षण अस्पताल २५ जना

काठमाडौं मेडिकल कलेज २४ जना

वीरेन्द्र सैनिक अस्पताल २६ जना

सबैभन्दा धेरै घाइतेहरूको उपचार निजामती कर्मचारी अस्पतालमा ४३६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा १६१ जना, र एभरेष्ट अस्पतालमा १०९ जना भएको मन्त्रालयले जनाएको छ।

सचिव देवकोटाले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन मन्त्रालय स्तरबाट समन्वय भइरहेको जानकारी दिए। साथै, उनले प्रदर्शनमा संलग्न सबैलाई संयमता अपनाउन आग्रह गर्दै, घाइते र मृतकप्रति दुःख व्यक्त गरे।

जेनजी आन्दोलनका कारण उत्पन्न यो परिस्थितिले मुलुकभर स्वास्थ्य तथा सुरक्षाको चुनौती थपिएको छ। स्थिति अझै सामान्य नहुँदै गर्दा सम्बन्धित निकायको ध्यान घटनास्थलमा थप व्यवस्थापन र समन्वयमा केन्द्रित हुन जरुरी देखिन्छ।

तपाईको प्रतिक्रिया