सुर्खेत, — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हाल देशव्यापी रूपमा चर्किएको जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीलाई अस्वीकार्य भन्दै कडा प्रतिक्रिया दिएका छन्।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कँडेलले आन्दोलनलाई फरक उद्देश्यका लागि प्रयोग गरिएको आरोप लगाए। उनले भने, “आन्दोलनमा गणतन्त्र ल्याउने अभियानमा सक्रिय युवा समेत भड्काइएका छन्, जसले गर्दा कर्णालीमा समेत अप्रिय घटना दोहोरिएको छ।”
संघीय राजधानी काठमाडौंमा भएका घटनाहरूको प्रभाव कर्णालीमा समेत देखिएको उनले बताए। सिंहदरबार, संसद भवन र शीतल निवासजस्ता ऐतिहासिक संरचनामा भएको तोडफोडपछि कर्णाली प्रदेशको सुरक्षा प्रणाली कमजोर भएको र आफू हाल कपासेस्थित नेपाली सेनाको ब्यारेकमा बस्नुपरेको जानकारी मुख्यमन्त्री कँडेलले दिएका छन्।
मुख्यमन्त्री कँडेलले आन्दोलन व्यक्तिगत प्रतिशोधको आधारमा उक्साइएको आरोप पनि लगाए। उनले जनप्रतिनिधिहरूले गल्ती गरे कानुनी प्रक्रियामार्फत सजायको व्यवस्था रहेको स्पष्ट पार्दै हिंसात्मक बाटो अस्वीकार्य रहेको दोहोर्याए।
उनले भने, “गल्ती गर्ने जनप्रतिनिधिलाई कानुनअनुसार कारबाही हुन्छ, तर त्यसलाई आधार बनाएर सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्नु स्वीकार्य हुँदैन।”
मुख्यमन्त्री कँडेलका अनुसार हालसम्म कर्णाली प्रदेशसभासहित लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, प्रमुख राजनीतिक दलका कार्यालयहरू र नेताहरूका घरहरूमा समेत क्षति पुगेको छ। उनले सबै क्षतिग्रस्त संरचनाको अनुगमन गरिसकेको जानकारी दिँदै प्रदेश सरकार पुनःनिर्माण कार्यमा जुटेको बताए।
मुख्यमन्त्री कँडेलले हालको अस्थिर परिस्थितिमा पनि विकास तथा बजेट कार्यान्वयनका काम निरन्तर अघि बढाउन मातहतका कार्यालयहरूलाई निर्देशन दिएका छन्। उनले प्रदेशवासीलाई संयमता अपनाउन आग्रह गर्दै कानुनी राज्यको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए।

समृद्धि कृषि । २९ भाद्र २०८२, आईतवार २०:१७