गड्यौलापालनबाट वार्षिक २५ लाख आम्दानी गर्दै कर्णबहादुर वली

दाङ- तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौलापालन तथा गड्यौलाबाट उत्पादन हुने प्राङ्गारिक मल (भर्मिकम्पोस्ट) बिक्री गरेर वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्दै आएका छन् । राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी स्वेच्छिक अवकाश लिएका वली हाल सफल गड्यौलापालक किसानका रूपमा स्थापित भएका हुन् ।

विसं २०७९ मा कपिलवस्तुबाट ४० किलो गड्यौला ल्याएर व्यावसायिक गड्यौलापालन सुरु गरेका वलीले कृषि ज्ञान केन्द्र घोराहीले आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत भट्टे सहकारी संस्थालाई तरकारीखेतीका लागि बजेट उपलब्ध गराएपछि अर्गानिक उत्पादनतर्फ ध्यान केन्द्रित गरेका बताए ।

“माटो सुधार र नागरिकलाई अर्गानिक खेतीमा आकर्षित गराउने उद्देश्यले प्राङ्गारिक मलको खोजी गर्‍यौँ,” वलीले भने, “जिल्लामा प्रयोग नदेखिएपछि कपिलवस्तुबाट तीन हजार क्विन्टल गड्यौलाको मल ल्याएर तरकारीखेती सुरु गर्‍यौँ । उत्पादन राम्रो भएपछि आफू पनि गड्यौलापालनमै आकर्षित भएँ ।”

हाल वलीले वार्षिक करिब सात सय क्विन्टल गड्यौलाको मल र १२–१३ क्विन्टल गड्यौला बिक्री गर्दै आएका छन् । उनका अनुसार मल प्रतिक्विन्टल रु तीन हजार र गड्यौला प्रतिकिलो रु एक हजार २५० का दरले बिक्री हुँदै आएको छ । गड्यौला र मल दाङ, रुकुम, रोल्पा, प्यूठान, कैलालीलगायत जिल्लामा आपूर्ति हुँदै आएको छ भने मल विशेषगरी सल्यानको कोटमौलामा सुन्तलाखेतीका लागि बढी प्रयोग हुने गरेको छ ।

माग बढ्दो भए पनि आवश्यक मात्रामा उत्पादन पुर्‍याउन नसकिएको वली बताउँछन् । हाल दुई जना स्थानीयले नियमित रोजगारी पाएका छन् भने खेतीको याममा २५ जनासम्मले रोजगारीको अवसर पाउने गरेका छन् । सबै खर्च कटाएर गड्यौला र मल बिक्रीबाट वार्षिक रु १८–१९ लाखसम्म बचत हुने उनले जानकारी दिए । मागअनुसार उत्पादन बढाउन उनले चार वटा टहरा निर्माण गरी उत्पादन विस्तार गरेका छन् ।

अर्गानिक उत्पादन हुने गाउँका रूपमा परिचित भट्टेगाउँका किसानहरूले खेतबारीमा गड्यौलाको मल प्रयोग गर्दै आएका छन् । सुन्तला र ड्रागन फल खेती गर्ने किसानबाट गड्यौलाको मलको माग बढी रहेको भए पनि सबैलाई आपूर्ति गर्न कठिन भएको वलीको भनाइ छ ।

सरकारी सेवाबाट अवकाशपछि नागरिकलाई विषादीमुक्त तरकारी तथा फलफूल खुवाउने उद्देश्यले आफू गड्यौलापालनमा लागेको वलीले बताए । “गड्यौलाको मल प्रयोग गरी अर्गानिक खेती गरिरहेको छु,” उनले भने, “मौसमी र बेमौसमी अर्गानिक तरकारीखेतीबाट पनि आम्दानी भइरहेको छ ।”

कृषि ज्ञान केन्द्र घोराहीका अनुसार भट्टेगाउँमा हाल ३० भन्दा बढी किसानले गड्यौलाको मल उत्पादन सुरु गरेका छन् भने ठूलो मात्रामा उत्पादन गर्ने किसान वली मात्र रहेका छन् । वली विभिन्न स्थानमा पुगेर किसानलाई गड्यौला तथा गड्यौलाको मलका फाइदाबारे तालिम तथा प्रशिक्षण दिँदै आएको तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले बताए ।

यस वर्ष वलीलाई कृषि ज्ञान केन्द्रले ‘उत्कृष्ट किसान पुरस्कार–२०८२’ बाट सम्मानसमेत गरेको छ । तरकारीखेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिएको भट्टेगाउँमा तरकारीखेती, तोरीखेती, बाख्रापालन र भैँसीपालनमार्फत किसानहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै आएका छन् । यहाँ सिँचाइ सुविधा पुगेको छ भने सडक तथा अन्य कृषि पूर्वाधार विस्तारमा समेत पहल भइरहेको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया