काठमाडौं – सरकारले पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गरिएको जानकारी दिनुभयो । च्याउ खेतीको प्रवर्द्धन, उत्पादन वृद्धि तथा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस मनाउन थालिएको बताइएको छ ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसका साथै, सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।

समृद्धि कृषि । ११ पुष २०८२, शुक्रबार २०:२७