काठमाडौँ – बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ। बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन शून्य दशमलव २५ प्रतिशतले बढेको हो।
निर्देशनालयका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ नवीन कुँवरका अनुसार यस वर्ष बाढी–पहिरोको प्रभाव कम हुनु र रोग–किराको प्रकोप न्यून रहेकाले धान उत्पादनमा वृद्धि भएको हो। चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर कूल एक लाख आठ हजार ८२० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। यस क्षेत्रफलबाट प्रतिहेक्टर औसत चार दशमलव १५ मेट्रिक टनका दरले चार लाख ५१ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा एक लाख पाँच हजार ४१५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार ३१६ मेट्रिक टन धान उत्पादन भएको थियो। त्यसैगरी आव २०८०/८१ मा एक लाख नौ हजार १५१ हेक्टर क्षेत्रफलमा चार लाख १३ हजार ९८८ मेट्रिक टन धान उत्पादन भएको थियो।
प्रदेशमा सबैभन्दा बढी धानखेती हुने जिल्ला चितवनमा यस वर्ष २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९६ मेट्रिक टनका दरले एक लाख ३५ हजार ५३२ मेट्रिक टन धान उत्पादन भएको छ। नुवाकोटमा ११ हजार ६१५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव १३ मेट्रिक टनका दरले ४७ हजार ९७८ मेट्रिक टन र धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २३ मेट्रिक टनका दरले ४७ हजार २०३ मेट्रिक टन धान उत्पादन भएको छ।
काठमाडौँ उपत्यकामा काठमाडौँ जिल्लामा तीन हजार ६०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९८ मेट्रिक टनका दरले १७ हजार ९२८ मेट्रिक टन, ललितपुरमा चार हजार १२८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ७८ मेट्रिक टनका दरले १९ हजार ७३२ मेट्रिक टन र भक्तपुरमा दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर पाँच दशमलव ५३ मेट्रिक टनका दरले १४ हजार ९१४ मेट्रिक टन धान उत्पादन भएको छ।
यसैगरी मकवानपुरमा आठ हजार ४९३ हेक्टर क्षेत्रफलमा ३२ हजार ९५१ मेट्रिक टन, सिन्धुलीमा १२ हजार ३८५ हेक्टर क्षेत्रफलमा ४६ हजार ५६८ मेट्रिक टन, काभ्रेमा आठ हजार १९८ हेक्टर क्षेत्रफलमा ३४ हजार ५१४ मेट्रिक टन, रामेछापमा सात हजार ४६६ हेक्टर क्षेत्रफलमा २० हजार ८४ मेट्रिक टन र सिन्धुपाल्चोकमा सात हजार ९०० हेक्टर क्षेत्रफलमा २३ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ।
त्यस्तै दोलखामा दुई हजार ७५८ हेक्टर क्षेत्रफलमा सात हजार ३०८ मेट्रिक टन र रसुवामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा दुई हजार ४३१ मेट्रिक टन धान उत्पादन भएको छ।
सूचना अधिकारी कुँवरका अनुसार समयमा वर्षा हुनु र रोग–किराको प्रकोप कम हुनु उत्पादन वृद्धिका मुख्य कारण हुन्। अघिल्लो वर्ष २०८१ असोज ११ र १२ गतेको अविरल वर्षा तथा बाढी–पहिरोका कारण धानबालीमा क्षति पुगेकाले त्यस वर्ष धान उत्पादन एक दशमलव ३७ प्रतिशतले घटेको थियो।

समृद्धि कृषि । १२ पुष २०८२, शनिबार १३:१४