नेपाली कांग्रेसद्वारा कारबाही माफी, पार्टी परित्याग गरेकालाई फर्कन आह्वान

काठमाडौं — नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक–समर्थक बनेका वा असहयोगका कारण निष्कासन, निलम्बन तथा कारबाहीमा परेकाहरूको बाँकी कारबाही अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृतिमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासन समितिबाट कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी गर्ने निर्णय गरेको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा कारबाही माफी पाएका व्यक्तिहरूको क्रियाशील सदस्यता निरन्तर कायम राख्दै सदस्यता नवीकरण गर्ने निर्णय भएको जानकारी दिइएको छ। बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पार्टीमा फर्कन आह्वान पनि गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ।”यस्तै, बैठकले समानुपातिक तर्फका ११० उम्मेदवार चयनका लागि मापदण्ड तयार गरी नाम चयन प्रक्रिया प्रारम्भ गरेको जनाएको छ। केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

तपाईको प्रतिक्रिया