
काठमाडौँ – नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को आयोजनामा हाते ट्याक्टर (मिनी टिलर) मर्मत–सम्भार सम्बन्धी पाँच दिने तालिम आज सोमबारदेखि शुरु भएको छ । समशितोष्ण बागवानी केन्द्रको तालिम हल, कीर्तिपुरमा शुरु भएको तालिममा देशका विभिन्न स्थानबाट आएका २४ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
कृषि पेशा क्रमशः प्रविधिमैत्री बन्दै गइरहेका बेला गाउँ–गाउँमा हाते ट्याक्टरको प्रयोग बढ्दै गएको छ । तर, ट्याक्टर बिग्रँदा मर्मत गर्ने दक्ष प्राविधिकको अभाव देखिन थालेपछि नामियाले यस्ता खालका सीपमूलक तालिमहरू निरन्तर आयोजना गर्दै आएको छ । तालिममार्फत स्थानीय स्तरमै मर्मत सेवा उपलब्ध गराई किसानलाई सहजता पुर्याउने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।
तालिममा सहभागीलाई हाते ट्याक्टरको संरचना, इञ्जिन, गियर प्रणाली, नियमित मर्मत, समस्या पहिचान तथा समाधान लगायतका विषयमा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्याससमेत गराइनेछ । तालिम पश्चात सहभागीहरूले मिनी टिलरको मर्मत–सम्भार सम्बन्धी सम्पूर्ण ज्ञान हासिल गर्न सक्ने नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमले स्वरोजगार सिर्जना गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिम उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले कृषिमा बढ्दो लागत घटाउन तथा उत्पादन प्रणालीलाई सहज र प्रभावकारी बनाउन यान्त्रीकरणको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । यान्त्रीकरणको माग र प्रयोग बढिरहेको सन्दर्भमा नेपालमा मिनी ट्याक्टर मर्मत–सम्भार र सञ्चालनसम्बन्धी सीपको विस्तार आवश्यक रहेको उल्लेख गर्दै सचिव मिश्रले तालिम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले देशका दूरदराजका क्षेत्रहरूमा समेत कृषि यान्त्रीकरणको प्रयोग बढ्दै गएको अवस्थामा किसानको घरदैलोमै सेवा पुर्याउन यस्ता तालिममा स्थानीय तहको समेत सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । यस किसिमका तालिमले ग्रामीण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन भई कृषि क्षेत्रको दिगो विकासमा टेवा पुग्ने उहाँको भनाइ थियो ।
पाँच दिनसम्म सञ्चालन हुने तालिमले कृषि यान्त्रीकरणको प्रवर्द्धन, दक्ष प्राविधिक उत्पादन तथा किसानको लागत घटाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

समृद्धि कृषि । १४ पुष २०८२, सोमबार १९:५१