नेपालगन्ज -उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) अन्तर्गत दुईदिने अभिमुखीकरण कार्यक्रम संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मा. डा. मदन परियारको प्रमुख आतिथ्यतामा आज नेपालगन्जमा सुरु भएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. विनोदकुमार शाह तथा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. विरबहादुर थापाको विशेष आतिथ्यता रहेको छ।
कार्यक्रमको उद्घाटन मन्त्री डा. मदन परियारले दीप प्रज्वलन गरी तथा कर्णाली प्रदेशका मन्त्री मा. विनोदकुमार शाहले गमलामा पानी हालेर गर्नुभएको हो। कार्यक्रमको अध्यक्षता कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले गर्नुभएको छ।
अभिमुखीकरण कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कृषि मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, तथा ती प्रदेशका ८१ स्थानीय तहका पालिका प्रमुखहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको छ।
R-HVAP कार्यक्रमले हाल विद्यमान कृषि प्रणालीलाई कृषि पारिस्थितिकीय खेती प्रणालीमा रूपान्तरण गर्न एकीकृत प्रणाली निर्माणमा जोड दिएको छ। कृषकहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले आन्तरिक वा निर्यात माग भएका कम्तीमा दुईवटा परिपूरक कृषिवस्तुको उत्पादन, बाह्य उत्पादन सामग्रीको न्यूनतम प्रयोग, स्थानीय उत्पादन सामग्रीको क्षमता अभिवृद्धि, तथा उप-उत्पादन र खेर जाने वस्तुको पुनःप्रयोगलाई प्राथमिकता दिइएको छ।
कार्यक्रमबाट लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ३२ र सुदूरपश्चिम प्रदेशका १७ गरी जम्मा ८१ स्थानीय तहका करिब ६० हजार घरधुरी, करिब २ लाख ५८ हजार जनसंख्या लाभान्वित हुनेछन्। ती ८१ पालिकामा हाल प्रचलित खेती प्रविधि, भौगोलिक अवस्था, रासायनिक पदार्थको प्रयोग, सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थाजस्ता विभिन्न मापदण्डका आधारमा क्लस्टर निर्माण गरी चरणबद्ध रूपमा पारिस्थितिकीय प्रणालीमा आधारित खेती प्रवर्द्धन गरिनेछ।
कार्यक्रमको कुल लागत १२०.९७ मिलियन अमेरिकी डलर रहेको छ। यसमध्ये IFAD को ७०.९३ मिलियन, संघीय सरकारको २४.५९ मिलियन, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारहरूको ०.५० मिलियन, ८१ स्थानीय तहको १.५२ मिलियन तथा लाभग्राहीहरूको २३.४३ मिलियन अमेरिकी डलर योगदान रहनेछ।
कार्यक्रमको आयोजना नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) कार्यक्रम समन्वय कार्यालय, कीर्तिपुर, काठमाडौंले गरेको हो।

समृद्धि कृषि । २० पुष २०८२, आईतवार १६:४१