सुर्खेत – विगत केही वर्षयता कर्णाली प्रदेशमा धान उत्पादन घट्दो क्रममा देखिएको छ । सीमित खेतीयोग्य जमिन, सिँचाइको अभाव, प्रतिकूल मौसम र रोगकिराको प्रकोपका कारण उत्पादनमा अपेक्षित वृद्धि हुन नसकेको प्रदेश सरकारको तथ्यांकले देखाउँछ ।
प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीको कुल ३० लाख २० हजार ९०० हेक्टर क्षेत्रफलमध्ये ९.५२ प्रतिशत अर्थात् दुई लाख ८७ हजार ७६१ हेक्टर मात्र खेतीयोग्य जमिन छ । तीमध्ये पनि ६९.७१ प्रतिशत क्षेत्रमा मात्र खेती भइरहेको छ भने ३०.२९ प्रतिशत जमिन बाँझो अवस्थामा छ ।
खेती गरिएको जमिनमध्ये धान उत्पादन हुने क्षेत्रफल ४२ हजार ५७३ हेक्टर रहेको छ । आर्थिक वर्ष २०८१–०८२ मा कर्णालीमा एक लाख ६६ हजार ५६७ मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । सो वर्ष प्रतिहेक्टर औसत उत्पादकत्व ४.६६४ मेट्रिकटन रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा भने एक लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।
यसअघि आर्थिक वर्ष २०७५–०७६ मा एक लाख ३३ हजार ५७९ मेट्रिकटन धान उत्पादन भएकोमा २०७७–०७८ सम्म आइपुग्दा उत्पादन एक लाख ३७ हजार मेट्रिकटन पुगेको थियो । त्यसपछि २०७८–०७९ मा उत्पादन घटेर एक लाख २५ हजार मेट्रिकटनमा झरेको थियो । पछिल्ला दुई वर्षमा उत्पादन केही बढे पनि दीर्घकालीन रूपमा स्थिर वृद्धि हुन सकेको छैन ।
मन्त्रालयका अनुसार कृषि प्रयोजनमा उपयोग भएको जमिनमध्ये केवल १९.०६ प्रतिशत क्षेत्रमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ । मौसमी सिँचाइसमेत जोड्दा कुल ३४.२२ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइको पहुँच छ ।
यस वर्ष कर्णालीमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला सुर्खेत बनेको छ । १४ हजार ९२१ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको सुर्खेतमा ६३ हजार ११५.८३ मेट्रिकटन उत्पादन भएको कृषि विकास निर्देशनालयले जनाएको छ । सुर्खेतपछि सल्यान र दैलेखमा बढी धान उत्पादन भएको छ । सल्यानमा ६ हजार १५८ हेक्टरबाट २९ हजार ५७ मेट्रिकटन र दैलेखमा ७ हजार ९२५ हेक्टरबाट २७ हजार १२० मेट्रिकटन धान उत्पादन भएको छ ।
जाजरकोट, कालीकोट, रुकुम पश्चिम र जुम्लामा मध्यम उत्पादन देखिएको छ भने हिमाली जिल्लाहरू मुगु, हुम्ला र डोल्पामा धान उत्पादन निकै न्यून रहेको छ । जुम्लामा विशेषगरी मार्सी धान उत्पादन हुने गर्दछ ।
खाद्यान्न अभाव कायमै
धान उत्पादन भए पनि कर्णालीमा खाद्यान्न अभाव भने कायमै छ । मन्त्रालयको कृषि रणनीतिअनुसार प्रदेशको वार्षिक खाद्यान्न आवश्यकता तीन लाख ४४ हजार ३२४ मेट्रिकटन रहेको छ । तर यस वर्ष उत्पादन भएको धानले १६ लाख ९४ हजार जनसङ्ख्यालाई आधा वर्ष पनि खान पुग्दैन ।
प्रदेशका सल्यान, दैलेख र सुर्खेतबाहेक बाँकी सात जिल्लामा खाद्यान्न अपुग रहेको प्रदेशका कृषि मन्त्री विनोदकुमार शाहले बताए । उनका अनुसार कर्णालीका कुल घरधुरीमध्ये ६९.५ प्रतिशत परिवारलाई आफ्नै कृषि उत्पादनले वर्षभरि खान पुग्दैन ।
उत्पादन घट्नुका कारण
मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेका अनुसार समयमा वर्षा नहुनु, रोगकिराको प्रकोप र हाइब्रिड धानमा देखिएको संक्रमण उत्पादन घट्नुका मुख्य कारण हुन् । उन्नत बीउको नियमित प्रतिस्थापन नहुनु र ग्रामीण क्षेत्रमा गुणस्तरीय बीउको अभावले पनि उत्पादनमा नकारात्मक असर परेको विज्ञहरूको भनाइ छ ।
सडक निर्माणका क्रममा सिँचाइ संरचना भत्किनु र पानीका मुहान सुक्नुले पनि उत्पादन घटेको बताए । उनका अनुसार उत्पादन वृद्धि गर्न सिँचाइ व्यवस्थापनमा मन्त्रालयले प्राथमिकता दिइरहेको छ ।

समृद्धि कृषि । २१ पुष २०८२, सोमबार १९:०१