बाँकेमा आगलागी, भैँसीसहित आठवटा जनावर जलेर मरे

बाँके — बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँमा एक स्थानीयको घरमा आगलागी हुँदा दुध दिने भैँसीसहित आठवटा जनावर जलेर मरेका छन्। आगलागीमा घरमा भण्डारण गरिएको करिब ११ क्विन्टल गहुँ पनि जलेर नष्ट भएको छ।

घरधनी भगवानदिन यादवका अनुसार आगलागीबाट करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उहाँले शुक्रबार बिहान करिब १ बजेतिर कसैले घरमा आगो लगाएर फरार भएको आशंका गर्नुभयो। घर र गोठ पूर्णरूपमा जलेर खरानी भएपछि मात्र आगलागी भएको थाहा पाएको उहाँको भनाइ छ।

यादवका अनुसार घटनास्थलमा विद्युत् जडानसमेत नभएकाले आगलागी आफैं नभई कसैले नियोजित रूपमा लगाएको हुन सक्ने आशंका गरिएको छ। दुध दिने भैँसीहरू जलेर मरेपछि आफ्नो मुख्य व्यवसाय नै समाप्त भएको भन्दै उहाँले दुःखेसो गर्नुभयो।

उता, जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गर्नुका साथै स्थानीयसँग सोधपुछ गरेको जनाएको छ। आगलागी कसरी र किन भयो भन्ने विषयमा गहिरो अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया