इगरब्रिज विद्यालयको एसईईमा फेरि उत्कृष्ट नतिजा, ३ विद्यार्थीले ल्याए ४ जीपीए

सुर्खेत : इगरब्रिज आवासीय माध्यमिक विद्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक सफलता कायम राखेको छ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयका ३ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्। ४ जीपीए ल्याउने विद्यार्थीहरूमा आशिष हमाल, दर्पण पुरी र प्रियङ्का पोखरेल रहेका छन्।

विद्यालयका अनुसार यस वर्ष २७ जना विद्यार्थीले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन् भने ४१ जनाले ३.२० देखि ३.६० जीपीए हासिल गरेका छन्। विद्यालयले समग्र नतिजाले शैक्षिक गुणस्तर तथा अनुशासित अध्ययन वातावरणलाई पुष्टि गरेको जनाएको छ।

इगरब्रिज विद्यालयले विगतका वर्षहरूमा पनि निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ। गत वर्षको एसईई परीक्षामा विद्यालयका विद्यार्थी दीक्षित चौधरी ले ४ जीपीए ल्याएर कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेका थिए। हरेक वर्ष ठूलो संख्यामा विद्यार्थीले उच्च जीपीए ल्याउँदै आएका कारण विद्यालय कर्णाली प्रदेशकै उत्कृष्ट संस्थागत विद्यालयमध्ये एकका रूपमा परिचित बन्दै गएको छ।

विद्यालयले एसईईमा मात्र नभई कक्षा ११ र १२ को नतिजामा पनि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको जनाएको छ। विज्ञान, व्यवस्थापन तथा अन्य संकायका विद्यार्थीहरूले राष्ट्रियस्तरमै प्रतिस्पर्धी नतिजा ल्याउने गरेका छन्। पछिल्ला वर्षहरूमा कक्षा १२ को बोर्ड परीक्षामा समेत विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट जीपीए हासिल गर्दै आएका छन्।

विद्यालयका प्रिन्सिपल दिपेन भूसाल ले विद्यालयको सफलता शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यको परिणाम भएको बताउनुभयो। उहाँले भन्नुभयो,

“विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। विद्यालयको सम्पूर्ण प्रयास विद्यार्थीको गुणस्तरीय शिक्षा र राम्रो भविष्यतर्फ केन्द्रित छ। अभिभावक र विद्यार्थीको विश्वासले हामीलाई अझ जिम्मेवार बनाएको छ।”

विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भूसाल ले इगरब्रिजलाई देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभयो। उहाँले विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै व्यवहारिक, नैतिक तथा संस्कारयुक्त शिक्षामा पनि विशेष ध्यान दिइरहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो,“हामी विद्यार्थीको सर्वाङ्गीण विकासमा विश्वास गर्छौं। शैक्षिक ज्ञानसँगै अनुशासन, नेतृत्व क्षमता, व्यवहारिक सीप र संस्कार विकासमा पनि विद्यालयले उत्तिकै ध्यान दिएको छ। यही कारण विद्यार्थीहरूले भविष्य निर्माणमा आत्मविश्वास प्राप्त गरिरहेका छन्।”

विद्यालयका संस्थापक हेमप्रकाश भूसाल ले करिब तीन दशकअघि स्थापना गर्नुभएको इगरब्रिज विद्यालय अहिले कर्णाली प्रदेशको शैक्षिक क्षेत्रमा विश्वासिलो नामका रूपमा स्थापित भएको छ। आधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक, अनुशासित वातावरण तथा गुणस्तरीय शिक्षाका कारण विद्यालयले अभिभावक र विद्यार्थीको विश्वास जित्दै आएको विद्यालयको दाबी छ।

निरन्तर उत्कृष्ट नतिजा, विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड तथा गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताका कारण इगरब्रिज आवासीय माध्यमिक विद्यालय कर्णाली प्रदेशकै अग्रणी संस्थागत विद्यालयका रूपमा स्थापित हुँदै गएको छ।

तपाईको प्रतिक्रिया